नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध तीन करोड ४५ लाख ९९ हजार १६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार गुप्ता गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएको मिति २०७४ असार २० गतेदेखि २०७९ असार २८ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी निज र निजको एकाघर परिवार/सगोलमा रहेको व्यक्तिहरुले उक्त अवधिमा निज सार्वजनिक सेवा प्रवेश पूर्वको एकासगोल परिवारको बैङ्क तथा वित्तिय संस्थाहरुमा रहेको मौज्दात रकम, पारिश्रमिक बचत, ऋण र कृषि समेतको कुल आय जम्मा तीन करोड ५१ लाख ५२ हजार ६२० रुपियाँ देखिएको छ ।
सो अवधिमा अध्ययन खर्च, घर निर्माण र खरिद गर्दा लागेको खर्च रकम, बीमा प्रिमियम बापत भुक्तानी गरेको रकम, कम्पनी लगानीमा गरेको खर्च गरी कुल खर्च जम्मा ६ करोड ९७ लाख ८१ हजार ७८८ रुपियाँ देखिएको छ ।
सो अवधिमा निजको विभिन्न आयका स्रोतबाट आर्जन गरेका आय र सोही अवधिमा विभिन्न शीर्षकमा गरेको प्रमाणित खर्चहरुलाई व्ययका रुपमा गणना गर्दा तीन करोड ४५ लाख ९९ हजार १६७ रुपियाँको वैधानिक स्रोत पुष्टि भएको छैन ।
आयोगका अनुसार गुप्ताको बुवा वंशराज गुप्ता, आमा धानमती तेली, श्रीमतीहरु शारदा आचार्य गुप्ता र सुलोचना गुप्ताविरुद्ध पनि सो मुद्दा दायर भएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो रकम तीन करोड ४५ लाख ९ हजार १६७ रुपियाँ कायम गरी सजाय हुन मागदाबी लिई सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएकामे आयोगले जनाएको छ ।

प्रतिकृयाहरु