चिनियाँ र नेपाली वैज्ञानिकहरुको संयुक्त टोलीबाट नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा भोटेकोशी नदीले बगाएर ल्याएका मानव अङ्गको डिएनए प्रोफाइलिङ्गको काम भइरहेको छ । 

प्रयोगशालामा हालसम्म एक हजार ४२६ वटा हाडका नमूना संकलन भएकोमा ६३ प्रतिशतको डिएनए प्रोफाइलिङ्गको काम भएको प्रतिष्ठानका प्रवक्ता डा. रामचन्द्र पौडेलले बताउनुभयो। 

प्रवक्ता डा. पौडेलका अनुसार १५ जना चिनियाँ विज्ञ र १० जना नेपाली वैज्ञानिकसहितको टोली निरन्तर खटेको छ । चीनले सहयोगस्वरुप उपलब्ध गराएको ¥यापिड डिएनए सिक्वेन्सिङ्ग मेसिनले दुई घण्टामा दुईवटा नमुनाको डिएनए प्रोफाइलिङ्ग गर्नेगरेको छ । यसअघि नास्टसँग २५ क्यापिलरीको सिक्वेन्सर मात्र थियो। 

नेपाल प्रहरीको प्रयोगशाला र राष्ट्रिय विधिविज्ञान प्रयोगशालाको क्षमताले नभ्याएपछि नास्टलाई हड्डीको डिएनए परीक्षण गर्ने जिम्मा दिइएको थियो। प्रवक्ता पौडेलका अनुसार हड्डीमा डिएनएको मात्रा कम हुने भएकाले समय लाग्छ । तसर्थ चाइना एडबाट आएका उपकरणको प्रयोग गरी नास्टको मोलिक्युलर बायोटेक्निकल प्रयोगशालामा डिएनए परीक्षणको काम द्रूत गतिमा भइरहेको छ। 

प्रवक्ता पौडेलका अनुसार डिएनए प्रोफाइलिङ्ग गर्दा सर्वप्रथम दाँत, हड्डीबाट डिएनए निकालिन्छ । त्यसछि पिसीआर गरिन्छ । सिक्वेन्सरमा राखेर डिएनएको गुण परीक्षण गरिन्छ। विपदका बेला अनुसन्धानको महत्व बढी हुने र यसलाई राज्यले समेत प्रवर्धन गर्नुपर्ने उहाँको धारणा छ।