म्याग्दी । बङ्गालको खाडीमा विकसित भएको अति शक्तिशाली चक्रवात ‘अर्नब’को सम्भावित प्रभावले प्रतिकूल मौसम हुन सक्ने चेतावनीपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरतर्फको पदयात्रा तीन दिनका लागि स्थगित गर्न आग्रह गरेको छ।
गाउँपालिकाले बुधबार सूचना जारी गर्दै वडा नम्बर ४, नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जाने पदयात्रा कात्तिक १२ देखि १४ गतेसम्म स्थगित गर्न अनुरोध गरेको हो।
दसैँ–तिहार बिदाको अवसरमा ४ हजार ५० मिटर उचाइमा रहेको अन्नपूर्ण प्रथमको उत्तरी आधार शिविरसम्म पुग्ने मौरिस हर्जोग पदमार्गमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। प्रतिकूल मौसमका कारण भारी वर्षा, हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम बढ्न सक्ने भएकाले पदयात्रा रोक्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो।
गाउँपालिकाले पदयात्रामा रहेका पर्यटकलाई सुरक्षित स्थानमा जान, स्थानीय बासिन्दा तथा हिमाल आरोहणको तयारीमा रहेका पर्यटकलाई विशेष सतर्कता अपनाउन र जल तथा मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक मौसमसम्बन्धी सूचना पालना गर्न अनुरोध गरेको छ।
त्यस्तै, अत्यावश्यक कामबाहेक घरबाट टाढा तथा रातको समयमा यात्रा नगर्न, बाढीपहिरोको जोखिम भएका स्थान र नदी किनारमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन तथा जोखिम देखिएमा सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ।
ट्रेकिङ तथा यातायात व्यवसायी, होटल सञ्चालक र पर्यटकलाई स्थानीय वडा कार्यालयसँग समन्वयमा रहन पनि गाउँपालिकाले अनुरोध गरेको छ। सम्भावित विपद्को सामना गर्न युवा क्लब, टोल विकास संस्था तथा अन्य सरोकारवाला निकायलाई तयारी अवस्थामा रहन भनिएको छ।
कुनै विपद्जन्य घटना भएमा सम्बन्धित वडा कार्यालय, जनप्रतिनिधि, नजिकको प्रहरी इकाइ वा गाउँपालिकाको कार्यालयमा तत्काल जानकारी गराउन प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले आग्रह गर्नुभएको छ।
सम्बन्धित निकायको आधिकारिक मौसम सूचना र स्थानीय प्रशासनको निर्देशनलाई प्राथमिकता दिँदै जोखिमपूर्ण पदयात्रा नगर्नु नै सुरक्षित उपाय हो।

प्रतिकृयाहरु