बुढानीलकण्ठ, काठमाडौं – बुढानीलकण्ठ नगरपालिकाले विपद् व्यवस्थापन तथा आपत्कालीन अवस्थामा प्रभावकारी रूपमा खोज, उद्धार र राहत कार्य सञ्चालन गर्न सक्ने दक्ष स्वयंसेवक तयार गर्ने उद्देश्यले एकदिने अभिमुखीकरण तथा विपद् खोज तथा उद्धार प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न वडाबाट सहभागी भएका विपद् स्वयंसेवकहरूलाई विपद् व्यवस्थापनका आधारभूत सिद्धान्त, जोखिम न्यूनीकरणका उपाय, खोज तथा उद्धार सम्बन्धी सीप तथा व्यवहारिक अभ्यासबारे प्रशिक्षण प्रदान गरिएको थियो। प्राकृतिक तथा मानवीय कारणबाट उत्पन्न हुन सक्ने विपद्का घटनामा स्वयंसेवकहरूको भूमिका महत्वपूर्ण हुने भएकाले उनीहरूको क्षमता अभिवृद्धि गर्न कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।

प्रशिक्षणका क्रममा सहभागीहरूलाई विपद् पूर्वतयारी, सुरक्षित उद्धार प्रक्रिया, प्राथमिक उपचार, प्रभावित व्यक्तिको खोज तथा उद्धार, राहत व्यवस्थापन तथा आपत्कालीन अवस्थामा अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी दिइएको थियो। साथै व्यवहारिक अभ्यासमार्फत विपद्का समयमा आवश्यक पर्ने सीपहरू सिकाइएको थियो।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै उनले विपद्का समयमा स्थानीय स्तरमै दक्ष र जिम्मेवार स्वयंसेवकको आवश्यकता रहने उल्लेख गर्दै यस्ता तालिमले समुदायको सुरक्षा र विपद् प्रतिकार्य क्षमतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

नगरपालिकाले आगामी दिनमा पनि विपद् जोखिम न्यूनीकरण तथा समुदायमा आधारित विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्ता क्षमता विकासमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

स्थानीय तह, सुरक्षा निकाय तथा समुदायबीचको समन्वयलाई सुदृढ गर्दै विपद्का घटनामा छिटो र प्रभावकारी प्रतिकार्य सुनिश्चित गर्न स्वयंसेवकहरूको सक्रिय सहभागिता महत्वपूर्ण हुने कार्यक्रममा जोड दिइएको थियो।