प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ आज दिउँसो १:४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गर्नुभएको हो ।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, सञ्चार व्यवस्थापन संयोजक दीपा दाहाल र संस्कृति तथा सम्पदा समन्वय उपसंयोजक विनय शाक्य हुनुहुन्छ । यसका साथै टोलीमा उच्च सरकारी अधिकारी, व्यवसायी तथा सरकारी सञ्चारमाध्यमका तीन जना प्रतिनिधिसहित कुल ३५ जना सदस्य सहभागी हुनुहुन्छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुहुनेछ । साथै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भोलि मङ्सिर ७ गते प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको छ । 

भ्रमणका अवसरमा दुई देशबिच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी, दुवै देशका नेतृत्वबिच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ ।

शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासजस्ता विविध क्षेत्रमा आपसी सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र (एमओयू) समेत आदानप्रदान गरिनेछन् ।

भ्रमणको पहिलो दिन आज प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ । यस्तै, भोलि सोमबार नयाँदिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री शाह भ्रमण सम्पन्न गरी मङ्सिर ७ गते साँझ ६:३५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

भ्रमण टोली नेपाल फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी भ्रमणबारे जानकारी दिनुहुनेछ ।

 भ्रमण दलका सदस्यहरुको सूचि

१. सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाह

२. माननीय डा. श्री स्वर्णिम वाग्ले, अर्थमन्त्री

३. माननीय श्री शिशिर खनाल, परराष्ट्रमन्त्री

४. श्री कुमार व्यञ्जनकार, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार

५. श्री असिम शाह, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार

६. श्री विवेक मिश्र, प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार

७. श्री गोविन्दबहादुर कार्की, मुख्यसचिव, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय

८. श्री अमृतबहादुर राय, सचिव, परराष्ट्र मन्त्रालय

९. श्री रुद्रसिंह तामाङ, सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

१०. श्री सुभाष शर्मा, प्रधानमन्त्रीका प्रमुख निजी सचिव

११. सुश्री याङ्की उक्याब, प्रमुख कार्यकारी अधिकृत, लगानी बोर्डको कार्यालय

१२. श्री जगदीश्वर पाण्डे, परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार

१३. श्री प्रदीप परियार, प्रधानमन्त्रीका निजी सचिव

१४. श्री गहेन्द्रराज भण्डारी, सहसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय

१५. श्री कुमारराज खरेल, शिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय

१६. श्री लोकबहादुर पौडेल क्षेत्री, सहसचिव तथा प्रवक्ता, परराष्ट्र मन्त्रालय

१७. श्री अमृत लम्साल, सहसचिव, अर्थ मन्त्रालय

१८. श्री सुभाष ढकाल, सहसचिव, सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय

१९. श्री सुनील पौडेल, सहसचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय

२०. सुश्री दीपा दाहाल, प्रधानमन्त्रीका सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक

२१. सुश्री ललिता सिलवाल, उपसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय

२२. श्री विजय राज तण्डुकार, उपसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय

२३. श्री लोचन पौडेल, परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव

२४. श्री दीपकराज निरौला, शिष्टाचार अधिकृत, परराष्ट्र मन्त्रालय

२५. श्री मनोज गैरे, शाखा अधिकृत, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय

२६. लेफ्टिनेन्ट कर्णेल बलमुकुन्द बिष्ट, प्रधानमन्त्रीका प्रमुख सहयोगी सैनिक अधिकृत (एडीसी)

२७. मेजर सुशील बानियाँ, प्रधानमन्त्रीका सुरक्षा अधिकृत

२८. प्रहरी नायब उपरीक्षक दीपेश बस्याल, प्रधानमन्त्रीका सुरक्षा अधिकृत

२९. श्री विनय शाक्य, प्रधानमन्त्रीका निजी उपसचिव (सञ्चार)

३०. सुश्री तारा हमाल ढुंगाना, समाचारदाता, गोरखापत्र

३१. श्री कमल कुमार बस्नेत, संवाददाता, राष्ट्रिय समाचार समिति (रासस)

३२. श्री अशोक कुमार बस्नेत, भिडियोग्राफर, नेपाल टेलिभिजन

३३. श्री प्रेमराज गौतम, उपशिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय

३४. मेजर रोशन के.सी., प्रधानमन्त्रीका सहयोगी सैनिक अधिकृत (एडीसी)

३५. श्री मुकेश डंगोल, महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण