धनगढी, भाद्र १४ गते । सुदूरपश्चिमका बासिन्दाले आज हर्षोल्लासका साथ गौरापर्व मनाउँदैछन् । आज गौरा पर्वको अन्तिम दिन विधिपूर्वक दुबोको पूजा गौरापर्व मनाइरहेका छन् ।

साथै पश्चिम तराईमा बसोबास गर्ने थारु समुदायमा आजदेखि अष्टिम्की पर्व सुरु भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर थारु समुदायले दुई दिनसम्म अष्टिम्की पर्व मनाउने गर्दछन् । आजको दिनलाई गौराष्टमी, दुर्बाष्टमी वा अठ्वाली पनि भन्ने गरिएको छ । लौकिक मान्यतानुसार गौराकी सौताका रुपमा ‘सञ्ज्या’ लाई ल्याएर ‘दुर्बा’ अर्थात दुबोको पूजा हुने गरेकाले दुर्बाष्टमी भन्ने गरिएको धनगढीका साहित्यकार टीएन जोशी ‘किशोर’ ले बताउनुभयो ।

‘पूजनका हिसाबले आज गौरा पर्वको अन्तिम र महत्वपूर्ण दिन हो’, उहाँले भन्नुभयो । ‘हिजो अमुक्ताभरण सप्तमीका दिन गौराघरमा भित्र्याइएको गौरालाई व्रतालु महिलाहरुले गौराखला (आँगन) मा लगेर पूजा गर्ने चलन छ ।’

अष्टमी र दुबो दुवै भगवतीका प्रिय हुन् । त्यसैले गौरा मनाउने क्षेत्रमा दुर्बाष्टमीको विशेष महत्व छ । यो दिन तागाधारी नारीले पवित्र धागोबाट निर्माण गरिएको दुबोधागोलाई विधिपूर्वक अभिमन्त्रित गरी धारण गर्ने गरेको गरेको बताइएको छ । तागाधारी पुरुषका लागि जनैपूर्णिमाको महत्व भएजस्तै तागाधारी नारीका लागि आज विशेष महत्व रहेको जोशी उल्लेख गर्नुहुन्छ ।

उहाँले गौराष्टमी अर्थात दुर्बाष्टमीका दिन लोली गौरा र सञ्ज्या गौराको सौतीमिलन गराइ मङ्गलगान (फाग) गाएर पूजा अर्चना सकेपछि सबै व्रतालु महिला मिलेर गौरा महेश्वरलाई त्यहाँबाट उठाइ सूर्यार्घ दिने चलन छ । त्यसपछि अठ्वाली पूजा गर्ने गौराको खलामा राख्ने गरिन्छ । अठ्वाली गान सकेपछि फल फड्काउने, सूर्यको पूजा गर्ने र प्रसादको रुपमा टीका, फूल र पञ्चबिरुडा बाँड्दै देउडा खेल्ने प्रचलन छ ।

‘साँस्कृतिक तथा साङ्गीतिक पर्व गौरा सुदूरपश्चिम प्रदेशको बेग्लै धरोहर हो’, जोशीले भन्नुभयो–‘यसभित्र यहाँकोे समग्र लोकजीवन प्रतिबिम्बित भएको देख्न सकिन्छ ।’

गौरा पर्व समापन भएको दिन व्रतालु महिलाले घर, परिवारलाई प्रसाद्को रुपमा बिरुडा बाँड्ने र ग्रहण गर्ने चलन रहेको जनाइएको छ । कोरोना महामारीको जोखिम रहेकाले प्रदेशभरि नै भीडभाड नगरी पर्व मनाउन स्थानीय प्रशासनले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

यसैबीच पश्चिम तराईमा बसोबास गर्ने थारु समुदायमा आजदेखि अष्टिम्की पर्व सुरु भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर थारु समुदायले दुई दिनसम्म अष्टिम्की पर्व मनाउने गर्दछन् ।

अष्टिम्कीको पहिलो दिन आज महिला, पुरुषले पानीसमेत नखाइ निराहार व्रत बस्ने चलन रहेको जनाइएको छ । साँझपख घरको भित्तामा बनाइको अष्टिम्की वा कृष्ण भगवानको फोटोमा पूजाआजा गरेर फलफूल र पानी खाने परम्परा रहेको धनगढी उपमहानगरपालिका–८ विष्णुदेवी चौधरीले बताउनुभयोे । यसअघि, व्रतालुहरुले श्रीकृष्णाष्टमीको अघिल्लो रात भाले नबास्दै दर खाने गर्दछन् । जसलाई ‘भिन्सर्या भात’ वा दर भन्ने गरिन्छ ।

अष्टिम्की पर्वको दोस्रो अर्थात अन्तिम दिन व्रतालुहरुले विहानै नुहाइधुवाइ गरेर पुनः अष्टिम्कीको पूजा गर्ने चलन रहेको जनाइएको छ । यो दिन पूजाआजापछि उनीहरुले भात, माछा, फुलौरी, खरिया, खुर्मा जस्ता परिकार खाने गरेको बताइएको छ । उनीहरुले आफू खानु अवागै सबै चिज एक भाग निकालेर छुट्टयाउने गरेको चौधरीले जनाउनुभयो । छुट्टयाएको खानाको परिकार र फलफूल आफ्नो विवाहित छोरी चेलीलाई उपहार स्वरुप दिने चलन छ । जसलाई स्थानीय भाषामा अग्रासन भनिन्छ । अष्टिम्कीको व्रत बस्नाले सुख, शान्ति, समृद्धि प्राप्त हुने थारु समुदायमा धार्मिक विश्वास छ ।