आगामी २०८० सालको शैक्षिक सत्रदेखि कक्षा १ मा भर्ना हुन प्रवेश परीक्षा लिन नपाइने व्यवस्था गरिए पनि उपत्यकाका कतिपय विद्यालयले प्रवेश परीक्षा सञ्चालन गरेका छन् । गत माघमा शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रको प्रारम्भिक बालबालिका शाखाले निर्णय गरेर कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहलाई पठाएको थियो, तर निजी विद्यालयले प्रवेश शुल्क उठाउँदै आएका छन् ।  

काठमाडौँ महानगरका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले सोबारेमा केही जानकारी नभएको दाबी गरे पनि एसइई परीक्षाका कारण अनुगमन नभएको स्विकार्नुभयो ।

उहाँले भन्नुभयो, “कक्षा १ मा भर्ना गर्दा प्रवेश परीक्षा लिन नपाइने नियम छ । यदि त्यस्तो रहेछ भने कारबाही हुन्छ । तर, अहिले एसइई परीक्षामा खटिनु परेकाले अनुगमन गर्न भ्याइएको छैन ।”

उमेरका आधारमा मात्र बच्चाहरूलाई भर्ना गर्न पाइने व्यवस्था भएका कारण प्रवेश परीक्षा लिन नपाइने उहाँको भनाइ छ ।

सुवेदीले भन्नुभयो, “४ वर्षदेखि ५ वर्ष पुगेका बच्चालाई कक्षा १ मा भर्ना गर्न सकिने व्यवस्था छ । कतिपयले ३ वर्षको उमेरमा पनि ल्याउनुहुन्छ । त्यसमा विद्यालय र अभिभावकको मञ्जुरीमा नै भर्ना गर्न सकिन्छ, तर प्रवेश परीक्षाको बहानामा शुल्क लिन भने प्रतिबन्ध छ ।”

काठमाडौँ महानगरमा सामुदायिक र निजी विद्यालय गरी जम्मा ६०९ विद्यालय छन् । 

यस्तै, ललितपुर महानगरका शिक्षा महाशाखा प्रमुख महेन्द्रबहादुर कार्कीले महानगरभित्र कक्षा १ मा भर्ना गर्दा प्रवेश परीक्षा लिएको आफूलाई थाहा नभएको बताउनुभयो ।

“अहिलेसम्म कक्षा १ मा नै प्रवेश परीक्षा लिएको जानकारी प्राप्त भएको छैन । कानुनमै व्यवस्था नभएको कुरा गरेको भेटिए विद्यालयलाई कारबाही गर्छौँ,” उहाँले भन्नुभयो ।

कक्षा १ मा भर्ना लिएको वा नलिएकोबारे आफूहरूले अनुगमन भने नगरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कक्षा १ मा भर्नाका लागि प्रवेश परीक्षा नै सञ्चालन गर्न नपाइने भनेर प्रत्येक विद्यालयलाई सूचना जारी गरेका थियौँ । सोबारे पछि अनुगमन गरेका छैनौँ ।” 

उता, भक्तपुर नगरपालिकाले यसबारेमा आफूहरुकोमा गुनासो नआएको जनाएको छ । भक्तपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यका अनुसार यसबारेमा नगरपालिकामा कुनै गुनासो आएको छैन ।

यदि कक्षा १ मा भर्ना गर्दा प्रवेश परीक्षा लिएको भए विद्यालयलाई प्रदान गरिने सेवा सुविधा कटौती गरिने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “कुनै विद्यालयले कक्षा १ मा भर्ना हुन प्रवेश परीक्षा लिएको गुनासो आएको छैन । यदि त्यस्तो भेटिए विद्यालयलाई कारबाही स्वरूप सेवा सुविधा कटौती गरिनेछ ।” भक्तपुर नगरपालिकाभित्र निजी तथा सामुदायिक विद्यालय गरी जम्मा ९२ वटा विद्यालय छन् ।