काठमाडौं, चैत ७ गते। 

धेरैले घोडोजात्रा भन्ने बित्तिकै टुँडिखेलमा उफ्रिएका घोडा र नेपाली सेनाले देखाएको कलालाई सम्झिन्छन्। तर, ललितपुरको पाटन क्षेत्रमा भने शुक्रबार घोडे जात्राको छुट्टै रौनक थियो। सर्वसाधारणको उपस्थितिमा अष्टमान महर्जन ‘सानु’ले पाटनको मूल चोकमा घोडा चढेर जात्राको सुरुवात गर्नुभयो। 

मल्लकालदेखि सुरु भएको यो जात्रामा स्थानीयको बाक्लो उपस्थिति थियो। मल्ल राजाको प्रतीकसहित सर्वसाधारणले घोडालाई पछ्याउँदा चोकचोकमा घोडेजात्राको रौनकता थपिएको थियो। पाटन मङ्गल बजारको मूल चोकबाट यो जात्रा सुरु भएको जात्रा पाटनका भित्री गल्लीको परिक्रमा गरेर बालकुमारी मन्दिर पुगेर टुङ्गिएको हो। 

जात्रामा दौडाइएको घोडा बालकुमारी मन्दिरदेखि भोल गणेशसम्म तीन पटक ओहोरदोहोर गरेपछि जात्रा सम्पन्न हुने गरेको छ। यो जात्रालाई नेवारी भाषामा ‘याक: सल’ भनिन्छ। यो जात्राको आयोजना ‘भीमसेन गुठी च्योः खल:’ ले गरेको हो।  

-गोरखापत्र