विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेलाई साढे नौ वर्ष कैद सजाय सुनाएको छ। भृकुटीमण्डपस्थित फनपार्क भाडा प्रकरणमा न्यौपानेलाई अदालतले कैदका अतिरिक्त दुई करोड ४३ लाख ६८ हजार ८०३ रुपियाँ बिगो र सोही बराबरको जरिवाना हुने पनि आदेश गरेको विशेष अदालतका सूचना अधिकारी नारदप्रसाद भट्टराईले जानकारी दिनुभयो। 

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालीग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले बिहीबार सजाय निर्धारण गरेको हो। सोही इजलासले फागुन १६ गते १४ प्रतिवादीमध्ये नौ जनालाई दोषी ठहर गरेको थियो भने पाँच जनालाई कसुरबाट सफाइ दिएको थियो। 

आदेशअनुसार अदालतले प्रतिवादी कुञ्जबिहारीप्रसाद चौधरीलाई दुई करोड ४३ लाख ६८ हजार ८०३ रुपियाँ बिगो तिर्नुपर्ने पनि आदेश गरेको छ। मुद्दा दायर भएपछि निधन भइसकेकाले चौधरीलाई जरिवाना र कैद सजाय तोक्न मिल्दैन। यस्तै प्रमोद मेहतालाई अदालतले साढे आठ वर्ष कैद र दुई करोड ४३ लाख ६८ हजार ८०३ रुपियाँ बिगो र जरिवाना असुल गर्न आदेश गरेको छ। 

प्रतिवादीहरू हरि न्यौपाने, मोहनराज शर्मा र मदनकुमार कर्णलाई अदालतले जनही आठ वर्ष कैद सजाय सुनाएको छ। उहाँहरू सबैलाई जनही दुई करोड ४३ लाख ६८ हजार ८०३ रुपियाँ बिगो र जरिवाना तोकिएको छ। अदालतले प्रतिवादी रवीन्द्र यादवलाई साढे आठ वर्ष कैद र अन्य प्रतिवादीसरहकै बिगो र जरिवानाको आदेश गरेको छ। 

यस्तै पूर्वमन्त्री एवं नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई अदालतले मतियारमा कसुर ठहर गरेअनुसार बिगो र जरिवाना मात्रको आदेश गरेको छ। अदालतले गुरुङलाई एक करोड २१ लाख ८४ हजार ८०१ रुपियाँ बिगो र सोही बराबर जरिवाना तोकेको छ। उहाँका छोरा रवीन्द्रको हकमा पनि सोही सजाय निर्धारण भएको छ।