होटल सङ्घ नेपालले बैंकको सावा ब्याजको किस्ता तिर्ने समय दुई वर्ष थप नगरे होटलहरु बन्द गर्ने सरकारलाई चेतावनी दिएको छ । 

होटलहरुको छाता सङ्गठन होटल संघ नेपालले तत्काल बैंकको सावा ब्याज तिर्न नसक्ने घोषणा गरेको हो । सङ्घले कोभिडबाट थलिएको होटल उद्योग अझै पनि सामान्य अवस्थामा नफर्किएको भन्दै थप दुई वर्षसम्मका लागि बैंकको साँवा ब्याज पुनः तालिकीकरण उपलब्ध गराउन सरकारसँग माग गरेको छ । 

सङ्घका उपाध्यक्ष विनायक साहले सोमबार सरकारले तत्काल थप दुई वर्षसम्मका लागि बैंकको सावा ब्याज पुनः तालिकीकरण गर्नुपर्ने बताउनुभयो ।

उपाध्यक्ष साहले भन्नुभयो, ‘‘असोज मसान्तसम्म तिर्नुपर्ने साँवा ब्याजलाई केही समय पछाडि सार्नको लागि सरकारसँग माग गर्छौं । होटलहरुले नतिर्ने भनेको होइन तिर्नुपर्ने साँवा ब्याज तिर्छाैं । तर होटलहरुलाई समय चाहिन्छ । हामीलाई थप दुई वर्ष समय थप चाहियो । अहिले पनि होटल उद्योग अतिप्रभावित क्षेत्रमा नै छ । कोरोनासँगै रुस र युक्रेनको लडाइँ चलिरहेको छ भने प्रतिनिधि सभाको निर्वाचन तत्कालै आइरहेको छ । नेपालमा तत्काल पर्यटक बढिहाल्ने अवस्था पनि छैन । सरकारले होटल व्यवसायीहरुका कुरा सुनिदिएन भने होटलहरु क्रमिक रुपमा बन्द हुने अवस्था आउँछ । होटल बन्द हुने अवस्था नअाओस् भन्ने होटल एशोसिएशनको चाहना हो ।’’ 

सरकारले कोभिडको समयमा होटलहरुलाई दिएको बैंकको साँवा, ब्याज तिर्ने समय खारेज गर्दा थप समस्या भएको उपाध्यक्ष साहको भनाइ छ । उहाँले सरकारले कोभिडको मारको कारण अतिप्रभावित उद्योगका रुपमा हेरेकाले अझै अतिप्रभावित नै रहेकाले व्यवसायीहरुको मागलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । 

उपाध्यक्ष साहले विगतको भन्दा होटलहरु सामान्य सुधार भए पनि पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको जानकारी दिनुभयो । उहाँले अहिले पनि होटलहरु दैनिक घाटामा नै सञ्चालनमा रहेका बेलामा पनि बैंकहरुले असोज मसान्तमा तिर्नुपर्ने सावा ब्याज तिर्न दवाब दिइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘साढे तीन वर्षदेखि कोरोना महामारीको कारण होटल उद्योग थलिएको छ । सरकारले अतिप्रभावित उद्योग भनेर छुट्याएको थियो । गत आर्थिक वर्षहरुमा बजेट र  मौद्रिक नीतिहरुले होटलहरुले बैंकहरुबाट लिएको सावा ब्याजमा दिने समय थप गरेको थियो । चालु आर्थिक वर्षदेखि होटलहरुलाई दिएको सहुलियत खारेज ग¥यो । सरकार, राष्ट्र बैंक र बैंकहरुले होटलहरु सामान्य अवस्थामा आएको भन्ने भएको छ । साढे तीन वर्षपछि पछिल्लो समय केही लयमा आएको वास्तविकता हो । तर होटलहरुले ब्रेक इभेन्ट कमाउन सकेको छैन ।’’ 

उपाध्यक्ष साहले पोखरा र भैरहवाका होटल व्यवसायीहरुले असोज मसान्तमा तिर्न सक्दैनौं भनेर घोषणा गरेको भन्दै देशभरका होटलहरुमा एउटै अवस्था आएकाले सरकारले समय थप नगरे होटलहरु बन्द गर्नुपर्ने चेतावनी दिनुभयो । उहाँले होटलहरुलाई तिर्नुपर्ने साँवाब्याज तिर्दै नतिर्ने व्यवसायीहरुले नभनेको भन्दै बैंकहरुलाई साँवाब्याज तिर्ने तर समय दिनुपर्ने बताउनुभयो । 

‘‘हरेक दिन होटलहरु घाटामा नै छन् । घाटामा नै होटलहरु सञ्चालन गरिरहेका छौं । होटलहरु पूर्णरुपमा चलेको अवस्था छैन । यस्तो अवस्था बैंकहरुले असोज मसान्तमा तिर्नुपर्ने साँवा ब्याज तिर्न दवाब दिएका छन् । होटलहरुले धान्नसक्ने अवस्था छैन । पोखरा र भैरहवाका होटल व्यवसायीहरुले तिर्न सक्दैनौं भनेर घोषणा गर्नुभएको छ । देशैभरका होटलहरुमा एउटै अवस्था आएको छ ।’’ उहाँले भन्नुभयो ।  

उपाध्यक्ष साहले अहिलेको परिस्थितिमा होटलहरुले लिएको सावाको किस्ता र त्यसमा वहन गर्नुपर्ने ब्याज तिर्ने जिम्मेवारी रहेको भए पनि कुनै पनि हालतमा बैंकलाई साँवा ब्याज बुझाउन असक्षम रहेको बताउनुभयो । यो वर्ष पाँच लाख पर्यटक पनि ल्याउन नसकेकाले होटल उद्योग ५० प्रतिशत पनि चल्न नसकेको उहाँको भनाइ छ ।