सुरेन्द्र लामा बूढानीलकण्ठ नगरपालिका वडा नं १ का अध्यक्ष हुन। वि.सं २०५४ सालको स्थानीय निर्वाचनमा यस क्षेत्रमा कमजोर रहेको नेकपा एमाले २०७४ सालको स्थानीय निर्वाचनमा बलियो भएर प्यानल सहित जितेको थियो। त्यस पश्चात पनि निरन्तर शक्ति आर्जन गरिरहेको एमालेले यस वडामा पहिले भन्दा बढि मत ल्याएर निर्वाचन जितेको छ। त्यसो त निर्वाचन पुर्व नै अन्य पार्टीहरुले पनि वडा नं १ एमालेले नै जित्ने हो भनेर अनुमान लगाएका थिए। परिणाम आयो पनि त्यस्तै। आफ्नो दोश्रो कार्यकालको योजना बारे बिएसजी न्युजले छोटो कुराकानी गरेको छ।

प्रश्नः दोश्रो पटक निर्वाचित हुँदा कस्तो महशुस गरिरहनु भएको छ?

हामीले जन प्रतिनिधीको पहिलो कार्यकालमा बाँकी रहेका विभिन्न कामहरु जनअपेक्षा अनुसार हुनुपर्छ भन्ने हिसाबले जनताले निर्वाचित गराएका हुन्। हामी वडावासीले दिनुभएको उच्च विश्वास र जिम्मेवारीको सम्मान गर्नुपर्छ भन्ने जिम्मेवारी बोध गरिरहेका छौँ। त्यसको लागी जनतालाई धन्यवाद दिन चाहन्छु। हामीले पहिलो कार्यकालमा जनतालाई रिझाउने काम गरेछौँ भन्ने लागिरहेको छ।

प्रश्नः के-के काम चाँही बाँकी छ भन्ने लागेको छ?

पुर्वाधारमा १०% काम बाँकी छ। खुल्ला स्थान र पार्कहरुको निर्माण गर्नुपर्ने काम हरु छ। शहरी विकास र नगरपालिकाको सहलगानीमा बन्ने पार्कहरु, वडा कार्यालय र केही बाटो घाटोको काम बाँकी छ। त्यस्तै, खानेपानी व्यवस्थापनको लागी हामीले ट्याङ्की निर्माण सकाएका छौँ। अब त्यसमा संकलित पानीलाई जनताको घर सम्म पुर्याउने कामहरु बाँकी रहेको छ। अब पाईपलाईनको कामहरु सकाउँछौ। खानेपानीका स्रोतहरुको व्यवस्थापन पनि गर्छौँ। त्यस्तै आर्थिक विकासको क्षेत्रमा गर्नुपर्ने काम अझै बाँकी छ।

प्रश्नः पहिलो कार्यकालको उपलब्धीहरु के-के रह्यो?

हामीले पुर्वाधार विकास अन्तरगत सडकको पिच गर्ने, ढलान गर्ने कामहरु सम्पन्न गर्न सक्नु आफ्नो उपलब्धीको रुपमा रहेको छ। धेरैजसो बाटोहरुको काम हामीले सकाएका छौँ। सामुदायिक भवनको काम सकाएका छौँ। त्यसै स्थानमा आधारभुत स्वास्थ्य कार्यालय पनि स्थापना गरेका छौँ। वृद्ध भत्ता बैङ्क सम्म लिन जानुपर्ने अवस्था अन्त्य गरेका छौँ।

प्रश्नः वडा वासीको मागहरु के कस्ता रहेका छन्? कसरी समन्वय गरीरहनु भएको छ?

वडा नं १ मा २ किसिमको जनसङ्ख्या देखिन्छ। पहिले देखी बसिरहेका स्थानीय जनताको माग र बसाँईसरेर आउनुहुनेहरुको मागमा फरक छ। स्थानीय हरुमा विशेष गरी रोजगारीको माग बढिरहेको छ। स्थानीय समुदायमा विकास प्रति चासो कम छ। सरकारी काम काज सँग त्यती फेमिलियर नभएको समुदाय छ। उहाँहरुलाई विशेष ओरियन्टेसन गर्नुपर्नेछ। वडाले अलि बढि ध्यान दिनुपर्ने अवस्था छ।  र, नयाँ वडा वासीहरु सँग पनि हामी समन्वयको काम गर्छौँ। उहाँहरुको माग विशेष त पुर्वाधार विकासकै रहेको हुन्छ। त्यस्तै उहाँहरुले निरन्तर संवाद गरिदिए हुन्थ्यो भन्ने माग छ। त्यसमा पहिलो कार्यकालमा काम गर्न खोजेका थियौँ। तर कोभिड-१९ को प्रकोप को कारण गर्न भ्याएनौँ। अब निरन्तर गर्नेछौँ।

 

प्रश्नः फुलबारी मार्गको बाटो नबनेको मा जनताको गुनासो छ त्यो चाँही कहिले बन्छ?

फुलबारी मार्गको बाटो गत वर्ष सम्म हामीले ढल हाल्ने र विस्तारको काम सकाएका छौँ। उक्त बाटो पिचको लागी टेन्डर परिसकेको छ। यो आर्थिक वर्ष सकिनु अगावै त्यो बाटो पिच हुनेछ।

 प्रश्नः अबको कार्यकालमा के-के काम सकाउँछु जस्तो लागेको छ?

आगामी कार्यकालमा हिलो मुक्त वडा बनाउँछौँ। अबको २ वर्षमा सबै बाटो गल्लीको काम सकाउँछौँ। सिप विकासको काममा विशेष जोड दिनेछौँ। जनतालाई रोजगारी दिलाउनको लागी वडा भित्र रहेका २ वटा तारे होटलमा रोजगारीको लागी पहल गर्छौँ। त्यो भन्दा पहिले हामीले वडा वासीलाई तालिम दिएर तयार पार्नेछौँ। अबको डेढ वर्षमा आफ्नै भवनमा वडा वासीलाई सेवा प्रदान गर्नेछौँ। त्यस्तै, स्वास्थ्य सिविर नियमित राख्नेछौँ। टोल टोलमा भत्ता वितरण गर्ने कामलाई निरन्तरता दिनेछौँ।

प्रश्नः पर्यटकिय स्थलहरु बनाउने सन्दर्भमा के कस्तो तयारी छ?

मुख्यतः हामीले पार्क निर्माणलाई जोड दिएका छौँ। उक्त पार्कमा आउने पर्यटकहरुलाई राख्न होमस्टेको सुरुवात गर्छौँ। त्यो भन्दा पनि अगाडी होम स्टे तालिम सुरु गर्नेछौँ। हाम्रो वडाको माथिल्लो भेगमा हामी व्यवसायिहरुलाई समेत तालिम दिनेछौँ। त्यस्तै अहिले बनिरहेको गुम्बा पनि छिट्टै सञ्चालनमा आउनेछ। पुर्ण रुपमा बनिसकेपछि हामी घुम्ने र हेर्ने स्थानको रुपमा विकास गर्नको लागी हामी वडाको तर्फबाट पहल गर्छौँ।

प्रश्नः वडाको राजश्व संकलनको अवस्था के छ?

आर्थिक गतिविधी कम भएको वडा मध्ये हाम्रो वडा पर्छ। नयाँ बनेका घरहरुको कर उठ्ने गर्छ, त्यस्तै सम्पति कर नै हाम्रो प्रमुख स्रोत हो, व्यवसाय कर पनि हामीले अभियान सञ्चालन गरुन्जेल उठ्छ पछि फेरी उठ्दैन। बहाल कर त विदेश जानुपर्ने भएपछि आय स्रोत देखाउन पर्यो भने मात्र तिर्ने चलन छ। घरबाटो सिफारीसको आम्दानी पनि धेरै छ। जन प्रतिनिधी आईकन हामीले करको वृद्धी धेरै गरेका छौँ। साविकको भन्दा दोब्बर राजश्व उठाउन सफल भएका छौँ।

प्रश्नः युवा खेलकुदको क्षेत्रमा के गर्ने योजना छ?

हाम्रोमा सार्वजनिक जग्गा एकदम कम छ। एउटा चिल्ड्रेन पार्क थियो त्यसमा हामीले थोरै परिवर्तन गरेर ब्याडमिन्टन कोर्ट बनाएका छौँ। त्यस्तै, एउटा स्थानमा हामी कम्तिमा फुटसल खेल्न मिल्ने एउटा मैदान बनाउँदै छौँ। हामीले खेलकुद समिति बनाएर अगाडि बढ्ने छौँ। मार्सल आर्ट सँग सम्बन्धित प्रतियोगिताहरु पनि सुरु गर्नेछौँ।

प्रश्नः खहरे मासेर ढल हाल्ने र जग्गा प्लानिङ गर्ने प्रवृति कतिको छ?

वडा नं १ मा त्यस्तो अवस्था त्यति छैन। किनभने धेरै स्थानमा वस्ति विकास पनि भईसकेको छ। हाम्रो वडामा त्यस्तो प्रवृति छैन।

प्रश्नः अन्त्यमा केही भन्नु छ?

वडावासीले आफ्नो अमुल्य मत दिएर हामीलाई दोश्रो पटक मौका दिनु भएको छ। यसलाई हौसलाको रुपमा पनि बुझेका छौँ। तपाँईको मतको सम्मान गर्नेछौँ। जनताको सेवकको रुपमा हामी काम गर्नेछौँ। सबै मतदाता तथा वडा वासीलाई हार्दिक धन्यवाद दिन चाहन्छु।