आगो नियन्त्रणको क्रममा घाइते दुई सैनिकको कीर्तिपुरस्थित बर्न अस्पतालमा मंगलबार मृत्यु भएको छ । चैत २५ गते डोल्पाको ठुलीभेरी नगरपालिका-४ चिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा खटिएर गम्भीर घाइते भएका सैनिक जवानको उपचारको क्रममा मंगलबार मृत्यु भएको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको हो । 

चैत २५ गते आगो नियन्त्रणका लागि सदरमुकाम सुरक्षा गुल्मबाट गएका चार जना सैनिक घाइते भएका थिए । घाइतेमध्ये एक सैनिकको डोल्पा जिल्ला अस्पतालमा निधन भएको थियो। 

गम्भीर घाइते बाँकी तीन सैनिकलाई नेपाली सेनाको हेलिकप्टरमार्फत् थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको थियो । आइसियुमा उपचार गराइरहेका तीन जनामध्ये दुई जनाको मंगलबार मृत्यु भएको सैनिक सूचना निर्देशनालयले विज्ञप्तिमार्फत् जानकारी गराएको हो ।

गम्भीर घाइते एक जनाको भने कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ।