आज मानव जाति असाधारण र अभूतपूर्व संकटमा फसेको छ । यो पंक्ति लेखिँदासम्म विश्वका १७० मुलुकमा कोरोना भाईरसको संक्रमण बिस्तार भइसकेको छ । जसका कारण धेरैजसो देशहरु ‘लकडाउन’ मा गइसकेका छन् । लगभग पुरै बिश्व एकसाथ ठप्प भएको छ । यो अवस्था कहिलेसम्म भोग्नुपर्ने हो ? समस्याको समाधान कहिले हुन्छ ? यी प्रश्नको उत्तर कसैसँग छैन । पूरै सभ्यतामा अन्योल छाएको छ ।

 

संसारमा हरेक चिज अनित्य (क्षणिक) छन् । त्यसैले आशा गरौं, कोरोनाको प्रकोप मानव जातिका लागि क्षणिक समस्या हुने छ । केही दिनमै यसमाथि नियन्त्रण कायम हुने छ । वैज्ञानिकहरु यसको नियन्त्रणको उपाय खोज्न लागि परिरहेकै छन् । उनीहरु छिट्टै सफल हुने छन् । कोरोनाको उपचारविधि प्रयोगमा आउने छ र हामी हाम्रो दिनचर्यालाई पूर्ववत निरन्तरता दिन सक्षम हुने छौं ।

 

 

तर, अहिलेलाई यो एक सुखद कल्पना मात्र हो । किनकि प्रकोप दिनानुदिन बढिरहेको छ । साथै कोरोना उपचारको कुनै औषधि पनि पत्ता लागेको छैन । तत्काल पत्ता लाग्ने सम्भावना पनि छैन । परिणामतः यो महामारी यही बिन्दुमा समाधान हुन्छ भनेर तोक्न सक्ने स्थिति छैन । त्यसैले नचाहँदा नचाहँदै हामी अन्योल भोग्न बाध्य छौं ।

 

लकडाउनका कारण यतिबेला मानिसहरु आ–आफ्नो घर कोठामा कैद भएका छन् । मानिसहरुवीच भौतिक दुरी बढेको छ । तर, सामाजिक दुरी बढेको छैन । आ–आफ्नो घर र कोठामै बसेर सामाजिक सञ्जालमार्फत मानिसहरु अन्तकृया गरि नै रहेका छन् । कोरोना त्रासदीकै वीच विश्वभरका मानवजाति आफ्ना विगतका आस्था, संस्कृति, विश्वास र मूल्य मान्यतामाथि भित्रभित्रै गम्भीर आत्मसमीक्षा गरिरहेको छ ।

 

कुनै न कुनै दिन महामारी नियन्त्रण होला र लकडाउन खुल्ला । जुन दिन लकडाउन खुल्छ र घर कोठामा कैद भएका मानिसहरु सडकमा आउँछन्, त्योबेला विश्व व्यवस्था पूर्ववत रहने छैन । कोरोना संकटले वैश्विक शक्ति सन्तुलनमा त हेरफेर ल्याउने नै छ, मानिसको सोच, आस्था, विश्वास र मूल्यमान्यता जस्ता विषयमा पनि नयाँ बहसको शरुवात हुने छ ।

 

दृष्टिकोणको सवाल :

 

कोरोनाजस्तो महामारी मूलतः मानव सिर्जित समस्या हो । यो मूलतः हाम्रो धन सुख, पद सुख र शरीर सुखको महत्वाकांक्षाले पैदा गरेको समस्या हो । त्यसैले यसका कारणहरु सर्वाङ्गीण छन् र समाधान पनि सर्वाङ्गीण नै हुनुपर्छ । समाधानका लागि यान्त्रिक दृष्टिकोण छोडेर जैविक दृष्टिकोण अपनाउन जरुरी हुन्छ । यदि यो तथ्यलाई नजर अञ्दाज गरेर प्राविधिक समाधानमा नै चित्त बुझाएर बसियो भने यस्ता समस्या बल्झिरहने छन् । यो कुरा आम सर्वसाधारण र नीति निर्माताहरु सबैका लागि उत्तिकै महत्वपूर्ण छ ।

तर, यतिबेला आम मानिस मात्र होइन, नीति निर्माताहरु पनि, कोरोनाको किटाणुलाई मार्न सक्ने औषधि पत्ता लाग्यो भने समस्या समाधान हुन्छ भन्ने सोचिरहेका छन् । तत्कालीक समाधानका लागि यो जरुरी छ । तर, यही उपाय सबथोक होइन । किनकि, किटाणु मारेर रोग निको हुने होइन । यसो गर्दा क्षणिक रुपमा निको भए जस्तो त लाग्दछ । तर, हामीले मारेको भनिएको किटाणु मरेको हुँदैन । मात्र सुसुप्त भएको हुन्छ । सोही सुसुप्त किटाणु केही समयपश्चात अर्को रुप रंगमा ‘डाइभर्ट’ भएर हामी सामु पुनः प्रकट हुन्छ । त्यसले झन ठूलो समस्या पैदा गर्दछ ।

 

त्यसैले, यदि किटाणु मारेपछि समस्या सदाका लागि समाधान हुन्छ भनेर सोचियो भने यो अप्राकृतिक र यान्त्रिक सोच हो । पाश्चात्य चिकित्सा पद्दति (बायो मेडिकल मोडेल) ले यसरी नै सोच्दछ । यसैको प्रभावमा परेर विगत तीन सय बर्षयता हामी र हाम्रो सभ्यताले यसरी नै सोचिरहेको छ । यस प्रकारको सोच आफैंमा ‘रोग’ हो ।

 

वास्तविकतामा हामी कहिल्यै किटाणुहरुबाट मुक्त भएर जिउन सक्दैनौं । किटाणुलाई निषेध गर्छु भनेर सोचियो भने हामी आफैं निषेध हुने छांै । किनकि, जीवन भन्नु नै ‘शत्रु किटाणु’ र ‘मित्रु किटाणु’ वीचको गतिशील द्वैत सम्बन्ध हो । प्रकृति र जीवन जहिल्यै द्वैत स्वभावमा रहन्छन् । यही प्रकृतिले अमृत र बिष दुवै पैदा गर्छ । यही प्रकृतिले ‘शत्रु किटाण’ु र ‘मित्रु किटाणु’ दुवै पैदा गर्छ । यही प्रकृतिले रोग र निरोग दुवै पैदा गर्छ । प्रकृति स्वयं जन्म र मृत्यु दुवै हो ।

 

हाम्रो शरीरमा अहिले पनि विभिन्नखालका विरोधी स्वभावका भाइरस र ब्याक्टेरियाहरुको विशाल सञ्जाल सक्रिय छ । विरोधीजस्ता लागे पनि यिनीहरु ‘विपरीत तत्व’ होइनन् परिपूरक तत्व हुन् । यिनीहरुले प्रकृतिको लयअनुरुप आपसमा एक सन्तुलन पैदा गर्छन् । जसको परिणाम जीवन गतिशील हुन्छ । जब सन्तुलन बिग्रन्छ, तब रोग पैदा हुन्छ । त्यसैले किटाणु मार्नु समस्याको समाधान होइन, प्राकृतिक सन्तुलनसहित जिउन सक्नुचाहिँ समाधान हो ।

 

अर्थात, स्वास्थ्य ‘वस्तु’ होइन, ‘प्रकृया’ हो । साथै यो शरीर संरचनामा सीमित रहने ‘स्थानीय प्रकृया’ (लोकल प्रोसेस) होइन, यो ब्रह्माण्डीय तथा पर्यावरणीय लयसँग अभिन्न ‘अस्थानीय प्रकृया’ (नन्लोकल प्रोसेस) हो । प्रकृतिसँगको गहिरो सामीप्यले मात्र मनुष्यको स्वास्थ्य उन्नत र दिगो बन्छ ।

 

यो बिषय अब बहसमा आउनुपर्छ । तर, यो कुनै नयाँ कुरा होइन । यस्तो निश्कर्ष हाम्रा प्राचीन ऋषिहरुले उहिल्यै दिएका हुन् । यद्यपि आजको अत्याधुनिक स्वास्थ्य विज्ञानको निश्कर्ष पनि यही हो । तर, अहिलेसम्म व्यक्ति वा राज्यको नीतिगत तहमा यसखालको मान्यताले प्राथमिकता पाएको छैन ।

 

हामी सोच्दछौं, प्रकृति र जीवन ‘विपरीत तत्व’ ले बनेका छन्, तिनीहरुका वीचमा संघर्ष हुन्छ । प्रकृतिले रोग पैदा गर्छ, त्यसैले प्रकृतिसँग संघर्ष गर्नुपर्छ, अर्थात किटाणुलाई मार्नुपर्छ । तब हामी निरोगी हुन्छौं ।

 

हामीले गीत नै गायौं, ‘संघर्ष हो जीवन, जीवन संघर्ष हो ।’ एरिस्टोटलले बसाएको चिन्तनको यो जगलाई नै आधुनिक कालमा डेकार्ट, डार्वीन, जोन लक, कार्ल मार्क्सदेखि माओसम्मले थप विस्तार गरिदिए । यही यान्त्रिक प्रस्थापनालाई हामीले अकाट्य तथ्य मानेर हाम्रो संस्कृति र सभ्यता निर्माण गर्यौं ।

 

त्यसैले कुनै रोग देखा परिहाल्यो भने आज हामीलाई लाग्छ, कुनै खराव किटाणु पैदा भएछ, त्यसलाई मारे पछि समस्या समाधान हुन्छ । यही बुझाइअनुसार लुई पाश्चरका पालादेखि यता हामी लगातार किटाणु मार्ने उद्योग नै सञ्चालन गरि रहेका छांै, किटाणु मारिरहेका छौं ।

 

किटाणु मार्न भनेर यस्ता उद्योगहरुले सिफारिस गरे अनुसार हामीले भ्याक्सीन लगायौं । अनेक थरी एलोपेथिक औषधि खायौं । तर, किटाणुहरु मरेनन् । बरु हामीले मारेको भनिएका किटाणुहरु ‘डाइभर्ट’ भएर नयाँ नयाँ रुपरंगमा देखा परिरहे । अर्थात हाम्रो औषधिले दमन गरेका किटाणुहरु नै नयाँ नयाँ क्षमता र स्वाभावसहित उद्विकसित भइ रहे । किटाणु मारेर समाधान निस्किएन ।

 

यस्तै यान्त्रिक स्वास्थ्य पद्धतिको भर पर्दा आज हामी अर्को महामारीको शिकार भएका छौं । सिंगो विश्व भयावह र अन्योलपूर्ण संकटमा फसेको छ । जुन स्वास्थ्यसम्बन्धी यान्त्रिक सोच तथा व्यवहार कै परिणाम हो । अब हामीले स्वास्थ्य सम्बन्धी यस प्रकारको यान्त्रिक दृष्टिकोण नै कायम राख्ने कि वैकल्पिक दृष्टिकोण अवलम्वन गर्ने ? बहस हुनुपर्ने एउटा विषय यो हो ।

 

सामाजिक मूल्यको सवाल :

 

हाम्रो स्वास्थ्य, हाम्रो दैनिकको मानसिकता र सामाजिक जीवनले पनि निर्धारण गर्दछ । हामी के खान्छौं वा कस्तो हावापानीमा बस्छौं मात्र होइन, हामी कसरी सोच्छौं ? के चिजलाई आदर्श मान्छौं ? यस्ता प्रश्नले पनि हाम्रो स्वास्थ्यलाई निर्धारण गर्छ ।

 

हरेक मनुष्य जीवनमा आनन्द चाहन्छ । तर, त्यो आनन्द बाहिर छैन, भित्र छ । बाहिर छैन भन्नुको अर्थ धन भोग, पद भोग र शरीरभोगमा छैन । आफैंभित्रको आत्मिक मूल्यमा छ । धन, पद र शरीर आनन्द प्राप्तिका साधन मात्र हो, साध्य होइन । साध्य त निजत्व हो । मनुष्यले आफैंभित्रको निजत्व प्रस्फुटन गर्न सक्दा मात्र उसको जीवनमा आनन्द पैदा हुन्छ । जो आनन्दित छ, उसैको स्वास्थ्य राम्रो हुन्छ । अर्थात स्वास्थ्यको मूल स्रोत मनुष्यको आत्मिक मूल वा निजत्व नै हो ।

 

त्यसैले यसो भन्न सकिन्छ, यदि हाम्रो जीवन आफ्नो आत्मिक गुणधर्म अनुरुपको कर्ममा लागेको छ भने त्यसबाट आनन्द र स्वास्थ्य दुवै हासिल हुन्छ । यदि हाम्रो जीवन आफ्नो गुणधर्म विपरीत धन भोग, पद भोग र शरीर भोगको महत्वाकांक्षामै लिप्त छ भने आनन्द र स्वास्थ्य दुबै गुम्छ ।

 

दोस्रो कुरा, मानिसले दुःखलाई निषेध गर्ने र सुखै सुख ल्याउने भन्ने कुरा असम्भव छ । जहाँ हामी सुख पैदा गर्दछौं, सँगै दुःख पनि पैदा हुन्छ । जहाँ दुःख पैदा हुन्छ, सँगै त्यहाँ सुख पनि पैदा हुन्छ । त्यसैले मानिसले जीवनमा दुःख र सुख दुबैलाई स्वीकार गर्नुपर्छ । दुःखविनाको सुख र सुखविनाको दुःख असम्भव छ ।

 

आनन्द भनेको दुःखबाट बच्नु वा सुखलाई बढाउनु होइन । बरु दुःख र सुखको गतिशील सन्तुलनबाट निजत्वको प्रस्फुटन गर्नुचाहिँ आनन्द हो । र, यही कर्मले मात्र मानिसभित्र स्वस्थता पैदा हुन्छ ।

 

यी निश्कर्षहरु पनि कुनै नयाँ होइनन् । प्राचीन ऋषिमुनिहरुकै निश्कर्ष हुन् । यद्यपि आजको अत्याधुनिक मनोविज्ञानले यो निश्कर्षलाई पनि स्वीकार गर्छ ।

 

तर, हामीले त यसरी सोचेनौ । हामीले भौतिकवादी तरिकाले सोच्यौं । अर्थात हामीले भौतिक तत्व मात्र सत्य हो भन्यौं । भौतिक सुखको प्राप्ति मात्र खास कुरा हो भन्दै भौतिक सुखलाई नै जीवनको लक्ष्य बनायौं । यसरी हाम्रो चिन्तन पद्दति उल्टो भयो ।

 

हामीले साधन तत्वलाई नै साध्य बनायौं । खास साध्यलाई वेवास्ता ग¥यौं । त्यसैले हामी हाम्रो आत्मिक मूलबाट कट्यौं । धन सुख, पद सुख र शरीर सुखको लोभवृत्ति र प्रतिस्पर्धाले एकातिर प्रकृति र पर्यावरण ध्वस्त बनायो । अर्कोतर्फ हामीलाई मानसिकरुपमा भित्रैदेखि कमजोर बनाइदियो । यस्तो विषम मानसिक तथा पर्यावरणीय अवस्थामा मामुली किटाणुले नै हामीलाई आक्रमण गरेर बिरामी बनाउने मात्र होइन, ज्यानै लिन सक्ने अवस्था पैदा भयो ।

 

अर्कोतिर विकास र सुविधाका नाममा हामीलाई कृत्रिम जीवन प्रिय भयो । हामी प्रकृतिको लयमा बग्न तयार भएनौ । बरु उल्टो प्रकृतिलाई यातना दिएर उसको लयलाई खल्बल्याइदियौं । किटाणुहरुलाई ‘डाइभर्ट’ हुन बाध्य पा¥यौं । अनि आफूचाहिँ वातानुकुलित दिनचर्यामा बाँच्न थाल्यौं । तब प्रकृति र किटाणुहरुसँगको हाम्रो सम्बन्ध बिग्रियो । पटक–पटक देखा पर्ने नयाँ नयाँ महामारी यसैको परिणाम हो ।

 

अर्थात महामारी आउनुमा किटाणुको मात्र दोष छैन । हाम्रै संस्कृति र सामाजिक मूल्य दोषी छन् । के हामी यी कुराहरु मान्न तयार छौं ? बहसको दोस्रो विषय यो हो ।

 

सामाजिक संरचना :

 

चीनले छोटो समयमै कोरोनाको महामारी नियन्त्रण गर्न सफल भएको, तर सँगैमा पाश्चात्य मुलुकहरु भद्रगोलमा फसेकोे देखेर केही मानिसहरुमा चीनको नियन्त्रणमुखी राज्य प्रणाली पो ठीक रहेछ भन्ने भ्रम पैदा भएको पनि देखिएको छ । चीनले अस्थायीरुपमा कोरोना महामारी समाधान गरेको कुरा सत्य हो । तर, यसको अर्थ उ समस्याको दिगो समाधान गर्न सफल भयो भन्ने होइन ।

 

भित्री अर्थमा महामारी पैदा हुनुमा चीन वा अमेरिका वा यस प्रकारका सबैखाले यान्त्रिक तथा भौतिकवादी राज्यहरु जिम्मेवार छन्, जसले महत्वाकांक्षा र लोभवृत्तिमा आधारित सामाजिक मूल्य अनुसार राज्य सञ्चालन गरिरहेका छन् । त्यसैले चीनको राज्य प्रणाली विकल्प बन्न सक्दैन ।

 

समाज भन्नु नै व्यक्तिहरुका सम्बन्धहरुको अविभाज्य सञ्जाल हो । व्यक्तिहरु स्वस्थ भए भने समाज स्वस्थ हुन्छ । समाज स्वस्थ भयो भने व्यक्तिहरु पनि स्वस्थ हुन्छन् । यसरी हाम्रो स्वास्थ्य, सामाजिक संरचना र राज्य प्रणाली पनि अन्तरसम्वन्धित छन् ।

 

तर, समाज स्वस्थ हुनु भनेको के हो ? समाज कतिबेला स्वस्थ हुन्छ ? अत्याधुनिक समाजशास्त्रले यस सम्बन्धमा हामीलाई निश्चित मार्गदर्शन गर्छ । जब हामी समाजलाई समाजकै स्वभाव अनुकुल व्यवहार गर्दछौं, तब समाज स्वच्छ हुन्छ ।

 

समाजलाई समाजकै स्वभाव अनुकुलको व्यवहार गर्नु भनेको समाजलाई ‘यन्त्र’ होइन, ‘सम्बन्धहरुको जिउँदो सञ्जाल’ मान्नु हो । यसो गर्नु भनेको समाजका सारा अवयवहरुलाई अविभाज्य, अन्तरनिर्भर र परिपूरक सम्बन्धमा हेर्नु हो । नियन्त्रण र स्वतन्त्रता, समानता र समता, संस्कृति र प्रविधि आदि सामाजिक अवयवहरुलाई ‘विपरीत तत्व’ होइन, परिपूरक तत्व मान्नु हो । व्यक्ति, वर्ग, जाति (समुदाय) राज्यजस्ता अवयववीचको सम्बन्धलाई पनि ‘विपरीत तत्व’को सम्वन्ध होइन, परिपूरक सम्बन्ध मान्नु हो ।

 

यो मान्यताले व्यक्ति, जाति (समुदाय) वर्ग र राज्यजस्ता अवयवहरुलाई स्वायत्त त मान्दछ । तर, समाजलाई ‘अंश’ र ‘समग्र’ मा विभाजन गर्न, कुनैलाई ‘प्रधान’ र कुनैलाई ‘गौण’ मान्न, समाजको गति गणितीय हुन्छ भन्न र समाजलाई अमूक गन्तव्यमा रोक्न वा निर्देशित गर्नलाई अनुमति दिँदैन । बरु एजेण्डाहरुलाई एकीकृत गर्न, परिपूरक तत्ववीच गतिशील सन्तुलन कायम गर्न र समाजलाई गन्तव्यहीन प्रकृया मानेर समाजको सहजीकरण गर्न मात्र अनुमति दिन्छन् ।

 

तर, आजसम्म पनि हाम्रा सामाजिक संरचनाहरु यो मान्यताका विपरीत निर्माण भएका छन् । हाम्रा प्रचलित सामाजिक संरचनाहरु त ‘अंश’ र ‘समग्र’ को विभाजनमा आधारित छन् । साथै, ‘समाजको गति गणितीय हुन्छ’ र समाजलाई निश्चित गन्तव्यमा निर्देशित गर्न सकिन्छ भन्ने सिद्धान्तमा आधारित छन् । जस्तो कि आज प्रचलित उदारवादी वा समाजवादी वा राष्ट्रवादी, यी सबै समाज व्यवस्था समाजको गणितीय सिद्धान्तमा आधारित हुन् । जसले समाजलाई यन्त्र जस्तै व्यवहार गर्दछन् र समाजको गतिलाई गणितीय सुत्रमा व्याख्या गर्छन् । यसबाहेक केही समाज व्यवस्थाहरु धार्मिक (साम्प्रदायिक) छन्, जसले समाजलाई स्वधर्म (सम्प्रदाय) र परधर्ममा विभाजित गर्दछन् । यिनै अवैज्ञानिक सामाजिक संरचनाहरुले समाजको स्वास्थ्य बिगारेका छन् ।

 

यस्तै समाज व्यवस्थामा पैदा भएको शासकीय अहंकार, लोभवृत्ति र महत्वाकांक्षाले हामी मनुष्य र हाम्रो ग्रहको पनि स्वास्थ्य बिगारेको छ । के हामी यो निश्कर्ष मान्न तयार छौं ? बहसको तेस्रो विषय यो हो ।

 

प्रकृतिको शिक्षा :

 

मनुष्य आफूलाई विवेकवान प्राणी सम्झन्छ । तर, मनुष्य नै त्यो प्राणी हो, जो हण्डर ठक्कर नखाई चेत्दै चेत्दैन । कोरोना महामारी मनुष्यको मूखर्तापूर्ण यात्रामा त्यस्तै एउटा हण्डर ठक्कर हो । मनुष्य जाति आफ्नो मूर्खताको चरम सीमासम्म आइसकेको थियो । प्रकृतिले कोरोनाका नाममा खतराको घण्टी बजाइदियो । जसले आगामी दिनमा मनुष्य जातिको सोच र जीवनशैलीलाई परिवर्तन गर्न बाध्य पार्ने छ । परिणामतः कोरोना संकट सिँगो मानव सभ्यताको लागि ऐतिहासिक घुम्ति वा मोड (टर्निङ्ग प्वाइन्ट) बन्न सक्छ ।

 

कोरोना संकटले मूलतः मनुष्य जातिको यान्त्रिक तथा भौतिकवादी विश्वदृष्टिकोणमाथि चुनौति दिएको हो । साथै जैविक विश्वदृष्टिकोणको एक मात्र विकल्पमा जान संकेत गरेको हो । यो महामारी कति फैलन्छ ? कहाँ–कहाँ धक्का दिन्छ र भोलि कस्तो अवस्था आउँछ भन्ने प्रश्नमा हामी अझै अन्योलमै छौं । यद्यपि, यसका तत्कालिक परिणामहरु भने प्रकट हुन थालेका छन् ।

 

कोरोना महामारीले इतिहासमा पहिलोपल्ट सिंगो विश्वका मानिसहरुलाई एउटै समस्याको वरिपरि जागरुक र केन्द्रीकृत गरिदिएको छ । यसले मानिसहरुमा संयोजनकारी भूमिका खेल्ने वैश्विक संस्थाहरु जरुरी रहेछन् भन्ने बोध जगाइदिएको छ । साथै स्थानीयता र स्थानीय संस्थाहरुको महत्व पनि उजागर गरिदिएको छ ।

 

कोरोना महामारीकै कारण तथाकथित महाशक्तिहरु निकम्मा देखिएका छन् । ‘विज्ञान’ र ‘विकास’ नामको यिनीहरुको घमण्ड चुरचुर भएको छ । साथै यिनीहरुको ‘आर्थिक वृद्धि’ मा धक्का लाग्ने र समग्र वैश्विक शक्ति सन्तुलनमा फेरबदल हुने सम्भावना पनि देखिँदैछ ।

 

कोरोना महामारीका बेला निजी अस्पतालहरुले देखाएको व्यवहारले यो देखायो कि शिक्षा, स्वास्थ्यजस्ता सार्वजनिक महत्वका चिजहरु निजीकरण गर्नु घातक हुने रहेछ । लोकतन्त्र वा स्वतन्त्रताका नाममा सबै कुरा निजी क्षेत्रलाई सुम्पनु र राज्यको भुमिकालाई कम आँक्नु घातक हुने रहेछ ।

 

कोरोना महामारीले विज्ञान र विकासका हाम्रा गौरबमाथि पनि प्रश्न चिन्ह लगाइदिएको छ । प्रकृति र जीवनका विषयमा हाम्रा ज्ञानहरु कति विकलाङ्ग रहेछन् भन्ने बोध गराइदिएको छ ।

 

अन्त्यमा, आशा गरौं, कोरोना महामारी छिट्टै नियन्त्रण हुने छ र हामी मानव जाति, हाम्रो नवीन भविश्य निर्माणमा प्रकृतिले दिएको नयाँ शिक्षासहित अगाडि बढ्ने छौं ।

- मोहन तिम्सिना