लहान, माघ ५ गते । सिरहा जिल्लामा कोभिड सङ्क्रमितहरुका संख्या बढेपनि नेपाल भारतीय सीमा क्षेत्रमा सीमा पारीबाट आउनेलाई प्रभावकारी जाँच नगर्दा यसले जोखिम हुनेदेखिएको छ ।

लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा दिनहँु संयौै संख्यामा आउने भारतीय आँखाका बिरामीलाई ठाडी नाकामा जााँच नै नगरी आउन दिनेगरेको छ । विहानै जयनगरबाट सिरहाको माडर र पूर्व भेगका ठाडी नाकाबाट आँखा जाँचको लागि लहान आउने गरेका भारतीय नागरिकको एन्टिजेन्ट परीक्षण नगरेको जाँच गराउन आउने विरामीहरुले नै बताएका छन् ।

भारतीय विहार मधुवनी जिल्लाबाट आँखा जाँचको लागि आएका भारतीय नागरिकहरुका अनुसार सीमा नाका ठाडीमा कुनै जाँच गरिएको छैन । पहिलेकोजस्तै नेपाल–भारत आवत जावत भइरहेको उहाँहरुको भनाई छ । २५ जनाभन्दा बढी मानिस एक ठाउँमा भेला हुन नहुने, अनिवार्य मास्क लगाउने लगायतका स्वाथ्य मापदण्डको पालना समेत हन नसकेको स्थानीयहरुको गुनासो छ ।

सरकारले गरेको निर्णयअनुसार स्वास्थ्य मापदण्ड पूरा गर्नमा कडाई गर्नुपर्ने लहान स्वास्थ्य शाखाका प्रमुख जगदीश मण्डलले बताउनुभयो । सिरहा अस्पतालका जनस्वास्थ्थ्य अधिकृत कृष्णदेव यादवकाअनुसार सिरहाका चारवटा भारतीय नाकामा पालिकाबाट राखिएको हेल्थ डेस्कहरुमा एन्टिजेन्ट परीक्षण गरी पोजिटिभ देखिएमा नेपालतर्फ आउन नदिइने निर्देशन भएको छ । तर प्रभावकारी कार्यान्वयन भइरहेको छैन ।

मण्डलकाअनुसार ठाडी नाकामा सगरमाथा चौधरी आँखा अस्पताल लहानले जाँचको व्यवस्था मिलाउन पहल थालिएको छ । हाटबजार, भोज भतेर समारोह र ठूला सभााहरु नगर्न गरेको निर्देशनलाई पालना गराउन प्रहरी परिचालन तथा विभिन्न मिडियाबाट प्रचार प्रसार गराई भीडभाड नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी कोभिड सङ्क्रमण नियन्त्रण गर्न लागिपरेको प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडिले बताउनुभयो ।