काठमाडौँ, पुस १४ गते । जाडो बढेसँगै घरायसी खपत उच्च भइरहँदा काठमाडौँ उपत्यकामा विद्युत् आपूर्ति व्यवस्थापनमा नेपाल विद्युत् प्राधिकरणले सकस भोगिरहेको छ । वितरण लाइन तथा ट्रान्सफर्मरको क्षमताले थेग्नेभन्दा धेरै लोड सिर्जना हुँदा ट्रान्सफर्मर पड्कने तथा तार जल्दा कतिपय स्थानमा विद्युत् आपूर्ति नै अवरुद्ध हुने समस्या बढेको छ ।

केही दिनयता काठमाडौँ उपत्यकामा माग पनि अत्यधिक बढेको छ । गत वर्ष मध्य पुसमा उपत्यकामा उच्च समयमा करिब तीन सय मेगावाट माग थियो तर सोमबार काठमाडौँ उपत्यकामा साँझ ६ बजेदेखि ६ः३० सम्ममा माग ४५० मेगावाट पुग्यो भने मङ्गलबार दिउँसो १ बजे नै माग ४३० मेगावाट पुगेको छ ।

काठमाडौँ उपत्यकाका खास गरी बागमती र विष्णुमती नदीबीचको क्षेत्र र चक्रपथ बाहिरका क्षेत्रमा यस्तो समस्या बढी देखिएको छ । ललितपुरको इमाडोल क्षेत्रमा तीन दिनदेखि यही समस्याले उपभोक्ता आक्रान्त छन् । इमाडोलका स्थानीय नारायण काफ्लेका अनुसार तीन दिनदेखि विद्युत् आपूर्ति घण्टौँसम्म जाने र थोरै समय मात्र आउने गरेको छ ।

“प्राधिकरणले खपत बढाउने उद्देश्यले विद्युतीय चुलो हिटर प्रयोग गर्न आग्रह गर्ने तर वितरण प्रणाली बिजोग रहेछ,” उहाँले भन्नुभयो, “समयमै वितरण प्रणाली चुस्त नबनाएकाले यो क्षेत्रका उपभोक्ताले मोबाइल चार्ज गर्नसमेत नपाएको अवस्था छ ।” पछिल्ला तीन दिन इमाडोल, भक्तपुरका उपभोक्ताले पनि विद्युत् आपूर्ति रोकिएको गुनासो गरेका छन् ।

प्राधिकरणले भने ती क्षेत्रमा अहिले तार फेर्ने काम भइरहेको जनाएको छ । उता सतुङ्गलको बोसी गाउँ क्षेत्रमा पनि सोमबार साँझ करिब ६ः३० देखि रोकिएको विद्युत् आपूर्ति मङ्गलबार बिहानसम्मै अवरुद्ध भयो । इन्डक्सनमा खान जोडेपछि गएको बिजुली नआएपछि ग्यासमा पकाइयो,” स्थानीय सुष्मा आचार्यले भन्नुभयो– “अब बिजुली जाँदैन भनेर इन्भर्टर पनि हटाइएको थियो । त्यसैले मैनबत्ती बालेर खाना खाइयो ।” कीर्तिपुर क्षेत्रमा पनि सोमबार साँझ करिब आधा घण्टा विद्युत् आपूर्ति रोकिएको थियो ।

उपभोक्ताले बिजुली नियमित नपाई सकस भोगिरहँदा प्राधिकरणको दाबी भने कतिपय स्थानमा स्थानीयवासीकै असहयोगले क्षमता विस्तारमा समस्या परेको भन्ने छ । केही दिनअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ ट्रान्सफर्मर राख्न स्थानीयवासीले अवरोध गर्ने गरेको बताउनुभयो ।

“क्षमता बढाउन नयाँ ट्रान्सफर्मर थप्नुपर्ने हुन्छ तर कहाँ राख्ने भन्ने समस्या परेको छ,” उहाँले भन्नुभयो– “सडक छेउ तथा सार्वजनिक स्थलमा राख्न खोज्दा मेरो घर अगाडि राख्न पाइँदैन भन्छन् । हामीलाई सकस छ ।” नेपाल विद्युत् प्राधिकरण बागमती प्रादेशिक कार्यालयका प्रमुख श्रीरामराज पाण्डेले स्थानीयवासीको अवरोध समाधान गर्न स्थानीय तहका प्रतिनिधि तथा सामुदायिक नेतृत्वको सहयोग अत्यावश्यक देखिएको बताउनुभयो ।