बुढानीलकण्ठ, काठमाडौँ । युवा प्रतिभाहरूको उत्साहजनक सहभागिताका बीच 'दोस्रो बुढानीलकण्ठ नगर खेलकुद शिल्ड २०८३' सम्पन्न भएको छ। नगरभित्रका खेलाडीहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले आयोजित यस प्रतियोगितामा कराँते, तेक्वान्दो, फुटबल, बास्केटबल र ब्याडमिन्टन गरी पाँच विधामा प्रतिस्पर्धा भएको थियो।

वडा नं. ३ को सानदार जित

प्रतियोगिताभरि उत्कृष्ट खेल प्रदर्शन गर्दै वडा नं. ३ ले रनिङ शिल्ड हात पारेको छ। विजेता टोलीलाई नगर प्रमुख मिठाराम अधिकारी र उप-प्रमुख अनिता लामाले संयुक्त रूपमा शिल्ड, मेडल र प्रमाणपत्र हस्तान्तरण गर्नुभयो।

पुरस्कार वितरण समारोहमा वडा नं. ८ का अध्यक्ष सुमन तामाङ, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, सुशासन समितिका संयोजक शम्भु भट्टराई लगायत खेलकुद बोर्डका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

खेलले जोड्यो सम्बन्ध

समापन कार्यक्रममा बोल्दै जनप्रतिनिधिहरूले खेलकुदले हार-जित मात्र नभई नगरबासीहरूबीच एकता, अनुशासन र स्वस्थ जीवनशैलीको भावना विकास गरेको बताउनुभयो। ५०० भन्दा बढी खेलाडीहरूले भाग लिएको यो महोत्सवले बुढानीलकण्ठको खेलकुद इतिहासमा नयाँ इँटा थपेको आयोजकको भनाइ छ।

विजेता खेलाडी र समर्थकहरूको खुसीयालीले खेलमैदान उत्सवमय बनेको थियो। वडा नं. ३ का समर्थकहरूले आफ्नो वडाको जितलाई नाचगान र र्‍यालीसहित मनाएका छन्। नगरपालिकाले आगामी वर्षहरूमा पनि यस्ता प्रतियोगितालाई अझ परिष्कृत र ठूलो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।