नेपालगन्ज — तीन अर्ब रुपियाँभन्दा बढी आर्थिक हिनामिना भएको आरोपमा कर्णाली विकास बैङ्कका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरजविक्रम शाहसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तत्कालीन सीईओ निरजविक्रम शाह, उहाँकी पत्नी शुभेच्छा श्रेष्ठ र कर्णाली विकास बैङ्कको नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापा रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरका अनुसार उनीहरूलाई नेपालगन्जबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार बैङ्कमा भएको भनिएको आर्थिक हिनामिना प्रकरणमा फरार रहेका उनीहरूलाई अदालतबाट जारी पक्राउ पुर्जीका आधारमा पक्राउ गरी अदालतमा उपस्थित गराइएको हो। घटनामा संलग्न भई फरार रहेका अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।
१०९ जनाविरुद्ध मुद्दा
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कर्णाली विकास बैङ्कमा तीन अर्ब २० करोड ११ लाख रुपियाँभन्दा बढीको आर्थिक हिनामिना भएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरेको थियो।
सीआईबीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय बाँकेले उच्च अदालत तुलसीपुरको नेपालगन्जस्थित वाणिज्य इजलासमा १०९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।
प्रहरीका अनुसार उक्त प्रकरणमा बैङ्कका विभिन्न पदमा रहेका व्यक्ति तथा अन्य सम्बन्धित व्यक्तिहरूको संलग्नताबारे अनुसन्धान गरिएको थियो।
यसअघि तीन जना पुर्पक्षका लागि थुनामा
यसै प्रकरणमा यसअघि पक्राउ परेका कर्णाली विकास बैङ्कका तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपतिदयाल मिश्र र वित्त शाखा प्रमुख वेदप्रकाशसिंह ठकुरीलाई उच्च अदालत तुलसीपुर, नेपालगन्जको वाणिज्य इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
अदालतको आदेशपछि उनीहरू नेपालगन्ज कारागारमा रहेको प्रहरीले जनाएको छ।
कर्णाली विकास बैङ्कमा भएको भनिएको ठूलो आर्थिक हिनामिना प्रकरणमा थप व्यक्तिहरूको समेत संलग्नता रहेको भन्दै प्रहरीले फरार प्रतिवादीहरूको खोजीलाई तीव्रता दिएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिकृयाहरु