खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अधिकारीविरुद्ध २८ लाख २० हजार ३७५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । 

रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं. ९ वतन भएका वसन्त कुवर बस्न्यात क्षेत्रीविरुद्ध आठ लाख ९४ हजार पाँच सय, कैलाली गोदावरी नगरपालिका वडा नं. ६ वतन भएका सुरेश चौधरीविरुद्ध दुई लाख ६९ हजार र दोलखा मेलुङ गाउँपालिका वडा नं. ६ वतन भएकी रस्मिता भन्ने रस्मिता श्रेष्ठविरुद्ध १४ लाख ९३ हजार ३७५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आयोगका अनुसार खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागबाट हुने सार्वजनिक सेवामा सहजीकरण गरे गराए बापत घुस रकम माग गरी लिइ भ्रष्टाचार गरेको आरोप लागेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुरमा सजाय हुन मागदाबी लिइ सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।