काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयले अनिवार्य रूपमा नेपालीपन झल्कने गरी नामकरण गर्नुपर्ने भएको छ । अंग्रेजी नाम राखेका विद्यालयले नेपालीपनलाई संरक्षण गर्न नसकेको बताउँदै महानगरपालिकाले अबदेखि अनिवार्य रूपमा नेपालीमा नै नाम राख्न निर्देशन दिएको छ ।

नेपालीपन झल्कने गरी नामकरण नगर्ने विद्यालयलाई आगामी शैक्षिक सत्रदेखि विद्यार्थी भर्नामा रोक लगाउने चेतावनी पनि महानगरपालिकाले दिएको छ । साथै काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था छ ।

तर महानगरपालिकाभित्रका अधिकांश संस्थागत विद्यालयको नाम उक्त व्यवस्था प्रतिकूल रहेको महानगरपालिकाले जनाएको छ ।पछिल्ला दिनमा विद्यार्थी आकर्षण गर्ने नाममा अधिकांश संस्थागत विद्यालयले अङ्ग्रेजी नाम राख्ने गरेका छन् ।

महानगरपालिकाभित्र अङ्ग्रेजी वा विदेशी शैक्षिक संस्थाको नाम राखेर सञ्चालित संस्थागत विद्यालयको सङ्ख्या ३२३ वटा रहेको महानगरपालिका शिक्षा विभागले जनाएको छ । अहिले ती विद्यालयको नाम रुजु गर्ने काम भइरहेको र रुजु गरिसकेपछि सबै विद्यालयलाई लिखित पत्राचार गरेर नेपालीपन झल्कने नाम राख्न सचेत गराइने महानगरले जनाएको छ ।

पत्राचारको काम आजदेखि नै सुरु गरिने बताईएको छ । सम्बन्धित संस्थागत विद्यालयले विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर ३५ दिनभित्रमा विभागमा निवेदन दिनुपर्ने छ ।

निर्देशनको अवज्ञा गरेमा शिक्षा नियमावली २०५९ र काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ अनुसार कारबाही गरिने महानगरपालिकाले जनाएको छ ।