सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा नौ हजार ३८८ जना पीडित भएको तथ्याङ्क सार्वजनिक भएको छ । सोमबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ सार्वजनिक गर्दै सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घट्नामा नौ हजार ३८८ जना पीडित भएको तथ्याङ्क सार्वजनिक भएको हो ।

सन् २०२३ (२०७९ पुस १७ देखि २०८० पुस १५ गतेसम्म) मानव अधिकार उल्लङ्घनका घटनामा १४६ जना महिला र ८४२ पुरुष गरी जम्मा ९८८ जना पीडित भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी ज्यादतीका घटनामा सात हजार ७१६ महिला, दुई जना क्यु र ६८२ जना पुरुष पीडित भएको तथ्याङ्क छ । इन्सेकले सन् २०२२ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा सात हजार ३७६ जना पीडित भएको उल्लेख गर्दै सन् २०२३ मा यो सङ्ख्या सन् २०२२ भन्दा दुई हजार १२ जना बढी भएको जनाएको छ ।

सन् २०२३ मा राज्य पक्षबाट ६ जनाको हत्या भएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी यातनाको घटनामा दुई जना, गिरफ्तारीको घटनामा २४० जना, जातीय विभेदका घटनामा ६२ जना, कुटपिटका घटनामा ४१४ जना, अमानवीय व्यवहारका घटनामा ३१ जना, भेला तथा सङ्गठित हुने अधिकारमा ५०५ जना पीडित भएको इन्सेकले अभिलेख राखेको छ ।

इन्सेकको अभिलेख अनुसार प्रहरी हिरासतमा दुई जना र कारागारमा ५१ जनाको मृत्यु भएको छ । सङ्खुवासभा कारागारमा प्रहरीको यातना तथा कुटपिटबाट दुई जना बन्दीको मृत्यु भएको पनि उल्लेख गरिएको छ । त्यसैगरी, राज्य पक्षबाट एक जना बेपत्ता पारिएको र अन्य पक्षले दुई जनालाई बेपत्ता पारेको इन्सेकको प्रतिवेदनले उल्लेख गरेको छ ।

सन् २०२३ मा ३२३ जना व्यक्तिहरूको हत्या भएको प्रतिवेदनमा देखाइएको छ । जसमध्ये राज्य पक्षबाट ६ जना र अन्य पक्षबाट ३१७ जनाको हत्या भएको पाइएको छ । प्रतिवेदनकाअनुसार कोशी प्रदेशमा राज्यपक्षबाट तीन र अन्य पक्षबाट ६० जना गरी ६३ जना, मधेश प्रदेशमा राज्य पक्षबाट एक र अन्य पक्षबाट ६४ गरी ६५ जना, बागमती प्रदेशमा राज्य पक्षबाट दुई र अन्य पक्षबाट ५६ गरी ५८ जनाको हत्या भएको छ ।

त्यस्तै गण्डकी प्रदेशमा अन्य पक्षबाट २८ जना, लुम्बिनी प्रदेशमा अन्य पक्षबाट ५५ जना, कर्णाली प्रदेशमा अन्य पक्षबाट ३८ जना र सुदूरपश्चिम प्रदेशमा अन्य पक्षबाट १६ जनाको हत्या भएको जनाइएको छ ।