रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित दुई जना विद्यार्थीको शिक्षामा निरन्तरता सुनिश्चित गर्न बुढानीलकण्ठ नगरपालिकाले उनीहरूको शैक्षिक जिम्मेवारी ग्रहण गरेको छ। नगरपालिकाले आफ्नो पूर्वघोषणाअनुसार दुवै विद्यार्थीलाई नगर क्षेत्रभित्रका विद्यालयमा भर्ना गरी नियमित अध्ययनको व्यवस्था मिलाएको हो।

प्राकृतिक विपद्का कारण बालबालिकाको पढाइ रोकिँदै उनीहरूको भविष्यमा असर नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले आवश्यक शैक्षिक सहयोगसहित अध्ययनको सम्पूर्ण जिम्मेवारी लिएको जनाएको छ। कठिन परिस्थितिमा रहेका विद्यार्थीलाई शिक्षाको अवसरबाट वञ्चित हुन नदिने यो पहलले उनीहरू तथा परिवारलाई राहतसँगै नयाँ उत्साह र आत्मविश्वास प्रदान गर्ने अपेक्षा गरिएको छ।

नगरपालिकाले विपद् र संकट कुनै एक व्यक्ति वा परिवारको मात्र समस्या नभई समाजकै साझा जिम्मेवारी भएको उल्लेख गरेको छ। यस्ता संवेदनशील परिस्थितिमा राज्यका निकाय, समुदाय र नागरिकबीचको सहकार्य तथा मानवीय सहयोग अझ महत्वपूर्ण हुने नगरपालिकाको भनाइ छ।

संकटमा परेको व्यक्तिका लागि गरिएको सानो सहयोगले पनि ठूलो आशा र भरोसा जगाउन सक्ने भएकाले नगरपालिकाले सबै नागरिकलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार विपद् प्रभावितको सहयोगमा हातेमालो गर्न समेत आग्रह गरेको छ।