प्रहरीले ठुलो परिमाणको लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित एक दम्पत्तीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरका अनुसार लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट गोप्य सूचनाका आधारमा खटिएको विशेष प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ बाट कारोबारमा सङ्लग्न दम्पत्तिलाई एक सय सात ग्रामभन्दा बढी लागुऔषधसहित पक्राउ गरेको हो ।
लागुऔषध बिक्री वितरण गरिरहेको अवस्थामा बाँके, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ का ३० वर्षीय देशराज चौहान (लोनिया) र उहाँकी श्रीमती २५ वर्षीया पुजा लोनिया पक्राउ परेका हुन् ।
सूचना अधिकारी राठौरका अनुसार उनीहरुको साथबाट १०७ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर, भे ६ प ३७४५ नम्बरको एक थान मोटरसाइकल र २ थान मोबाइल बरामद गरिएको छ । लागुऔषध कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाउन लागुऔषध नियन्त्रण ब्युरो शाखाले जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको तथा उनीहरुमाथि थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
सीमापारी रुपैडिहामा खुला रुपले लागुऔषध ब्राउनसुगर बिक्री हुने गरेकोले त्यस क्षेत्रबाट नेपालगन्ज लगायतका स्थानमा लागुऔषध भित्रिने गरेको हुँदा दैनिकजसो पक्राउ गरिएपनि नियन्त्रणमा चुनौती रहेको उहाँको भनाइ छ ।

प्रतिकृयाहरु