रुकुमपश्चिमको आठबिसकोट नगरपालिका –५ नयाँडाँडामा सोमबार (आज) दिउँसो १२ बजे भएको जिप दुर्घटनाका मृतक र घाइतेको पहिचान खुलेको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार दुई जना मृतक र १३ जना घाइतेको पहिचान खुलेको हो । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदबहादुर पौडेलका अनुसार मृत्यु हुनेमा आठबिसकोट नगरपालिका ५ निवासी १० वर्षीय हरिबहादुर थापा र सोही वडाका २९ वर्षीय लक्ष्मीराम थापा रहेका छन् । 

त्यसैगरी घाइते हुनेहरुमा सोही वडा निवासी १९ वर्षीया जुनाकुमारी थापा, २५ वर्षीय गाडी धनि वीरबहादुर थापा, २७ वर्षीया सीता थापा, २३ वर्षीया जुनी थापा र ८ वर्षीय हिरा थापा रहनुभएको छ । पाँचै जनाको अवस्था गम्भिर रहेको छ । 

अन्य घाइतेहरुमा सोही वडा निवासी २५ वर्षीया हिरा थापा, २ वर्षका गौरव थापा, ४ वर्षीया वीरता थापा, २३ वर्षीया सुशिला थापा ऐरी, २८ वर्षीया भावना थापा ऐरी, २७ वर्षीया खिममाया थापा, आठबिसकोट नगरपालिका २ निवासी २० वर्षीया रमिता थापा र सोही वडा निवासी १९ वर्षीया निर्मला ऐरी रहनुभएको छ ।

आठबिसकोट ५ को थापाँगाउँबाट सोही वडाको नयाँडाडाँ जाने क्रममा भे १ च ३११२ नम्वरको डबल क्याप जिप दुर्घटना भएको थियो । जिप व्याक गर्ने क्रममा सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीको भनाइ छ । घाइतेहरुलाई उपचारको लागि आठबिसकोट नगर अस्पताल ल्याइएको छ । 

जिप चालक आठबिसकोट नगरपालिका ४ निवासी २५ वर्षीय प्रदिप विक फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।