बुढानीलकण्ठ नगरपालिकाले स्थापना गरेको बुढानीलकण्ठ सांस्कृतिक प्रतिष्ठानको पहिलो औपचारिक कार्यक्रमका रूपमा “स्रष्टा सम्मान समारोह” सम्पन्न भएको छ। कार्यक्रम २०८३ जेठ २९ गते शुक्रबार बिहान हातीगौँडास्थित नगरसभा हलमा आयोजना गरिएको थियो।
समारोहमा कला, साहित्य र संस्कृतिका क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका एक राष्ट्रिय तथा तीन स्थानीय स्रष्टालाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा साहित्यकार तथा विद्वान प्रा.डा. अभि सुवेदी उपस्थित थिए। नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा तथा प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रमको सभापतित्व सांस्कृतिक प्रतिष्ठानका कुलपति मल्ल के. सुन्दरले गरेका थिए भने सञ्चालन सदस्य सचिव राजकुमार थापाले गरेका थिए।
दीप प्रज्वलनसँगै कार्यक्रमको शुभारम्भ गरिएको थियो। सो अवसरमा बोल्दै प्रमुख अतिथि प्रा.डा. सुवेदीले बुढानीलकण्ठ सांस्कृतिक प्रतिष्ठानको स्थापनालाई क्षेत्रको सांस्कृतिक विकासका लागि महत्वपूर्ण कदम भएको बताउँदै स्रष्टाहरूको सम्मान गर्ने कार्य प्रशंसनीय रहेको उल्लेख गरे।
समारोहमा राष्ट्रिय स्तरका चित्रकलाकर्मी हरिप्रसाद शर्मा (मैजुबहाल, चावहिल), स्थानीय गीतकार तथा लेखक नरप्रसाद घिताल (वडा नं. ३), नाट्यकर्मी न्हुच्छे श्रेष्ठ (वडा नं. ६) र साहित्यकार बिना थिङ (वडा नं. १) लाई सम्मान गरिएको थियो। सम्मानित स्रष्टाहरूलाई प्रमुख तथा विशिष्ट अतिथिहरूले नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरेका थिए।
कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू, नेपाल पर्यटन बोर्ड, क्षेत्र विकास समिति, नगर युवा परिषद्का पदाधिकारीहरू तथा नगरपालिकाका विभिन्न महाशाखा र शाखाका प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सम्मानित स्रष्टाहरूको परिचय प्रतिष्ठानका सदस्य राजु तुलाधरले गराएका थिए। उनले प्रत्येक स्रष्टाको जीवन, योगदान र सृजनात्मक यात्राबारे जानकारी प्रस्तुत गरेका थिए।
प्रतिष्ठानले आगामी दिनमा बुढानीलकण्ठ क्षेत्रको कला, साहित्य, संस्कृति तथा सर्जकहरूको संरक्षण, प्रवर्द्धन र सम्मानका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

प्रतिकृयाहरु