चालू आर्थिक वर्षको पहिलो तीन महिनामा आयात निर्यात दुवै घटेको छ । आयात निर्यात घटेसँगै व्यापार घाटा घटे पनि राजस्व सङ्कलनमा प्रतिकूल प्रभाव परेको छ । 

भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार आव २०७९/८० को साउनदेखि असोज मसान्तसम्म आयात निर्यात दुवै घटेको हो । सरकारले विदेशी मुुद्रा सञ्चिति बढाउन केही वस्तुुको आयातमा कडाइ गरेको छ । 

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा चार खर्ब ९९ करोड ८३ लाख रुपियाँको आयात भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ दशमलव २० प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको साउनदेखि असोजसम्ममा चार खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख २० हजार रुपियाँको आयात भएको थियो । 

अघिल्लो वर्षको साउनदेखि असोजसम्मको निर्यातको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा निर्यात ३५ दशमलव ७१ प्रतिशतले कमी आएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ४१ अर्ब ८२ करोड एक लाख ९३ हजार रुपियाँ बराबरको निर्यात भएको विभागको तथ्याङ्क छ । अघिल्लो वर्षको सो अवधिमा ६५ अर्ब ५२ करोड आठ लाख ३४ हजार रुपियाँको निर्यात भएको थियो । 

यो अवधिमा आयात र निर्यातमा कमी आएसँगै व्यापार घाटा १३ प्रतिशतले घटेर तीन खर्ब ५९ अर्ब १७ करोड ८१ लाख नौ हजार रुपियाँमा झरेको छ । अघिल्लो वर्ष सो अवधिमा चार खर्ब १३ अर्ब ४७ करोड तीन लाख ८६ हजार रुपियाँ व्यापार घाटा भएको थियो । 

सबभन्दा धेरै आयात भारतबाट

यो तीन महिनाको अवधिमा सबैभन्दा धेरै भारतबाट दुई खर्ब ४४ अर्ब ७७ करोड ४१ लाख ५७ हजार रुपियाँको आयात भएकामा २८ अर्ब ९७ करोड २१ लाख १६ हजार रुपियाँको निर्यात भएको छ । 

सोे अवधिमा चीनबाट ५६ अर्ब ४३ करोड ५४ लाख छ हजार रुपियाँको आयात भएकामा १६ करोड ४२ लाख ४३ हजार रुपियाँको निर्यात भएको विभागको तथ्याङ्क छ । 

झन्डै ६८ अर्बको इन्धन आयात

सो अवधिमा सबैभन्दा धेरै इन्धन ६७ अर्ब ९३ करोड ८२ लाख ५० हजार रुपियाँको आयात भएको छ । यस्तै कच्चा पाम तेल नौ अर्ब ९७ करोड दुई लाख रुपियाँको र कच्चा भटमास तेल नौ अर्ब ५५ करोड ९२ लाख रुपियाँको आयात भएको छ । 

यस्तै नौ अर्ब २६ करोड ४५ लाख ३२ हजार रुपियाँको खाद्यान्न, सात अर्ब ६७ करोड १८ लाख रुपियाँको स्टिल, छ अर्ब ९२ करोड १९ लाख रुपियाँको आइरन, छ अर्ब ४१ करोड २२ लाख रुपियाँको रासायनिक मल आयात भएको विभागको तथ्याङ्क छ । 

झन्डै चार अर्बको पाम आयल निर्यात

सो अवधिमा पाम आयल तीन अर्ब ८९ करोड १७ लाख रुपियाँको निर्यात भएको छ । 

यस्तै तीन अर्ब सात करोडको कार्पेट, एक अर्ब २६ करोड ६५ लाखको चिया, एक अर्ब ६८ करोड ३० लाखको फेल्ट, एक अर्ब २० करोड ६१ लाखको अलैँची, एक अर्ब १७ करोड रुपियाँको धागो निर्यात भएको छ । एक अर्ब १६ करोड ५६ लाख रुपियाँको जुस निर्यात भएको विभागको तथ्याङ्क छ ।  

तीन महिनामा भन्सार राजस्व ९६ अर्ब ६१ करोड रुपियाँ सङ्कलन भएको विभागको तथ्याङ्क छ । गत आर्थिक वर्षको सोही अवधिमा एक खर्ब २९ अर्ब ९६ करोड ४२ लाख रुपियाँ बराबरको राजस्व सङ्कलन भएको थियो । भन्सार राजस्व सङ्कलनमा झन्डै ३५ प्रतिशतले कमी आएको छ । 

नेपालले १२७ वटा मुलुकसँग वैदेशिक व्यापार गर्दै आएको छ । यसमध्ये १९ वटा मुलुकसँग नाफा र १०८ देशसँग व्यापार घाटा रहेको छ । 

मासिक आयात बढ्दो क्रममा

गत वर्षको असोजको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा आयात निर्यातमा दुवै कमी आए पनि चालू आर्थिक वर्षको मासिक आयात निर्यात बढ्दो अवस्थामा छ । 

विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा एक खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपियाँको आयात भएकामा भदौमा बढेर दुई खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजार रुपियाँ पुगेको थियो । साउनको तुलनामा भदौमा एक खर्ब ४२ अर्ब ३१ करोड ३५ लाख ८६ हजार रुपियाँ बढीको आयात हो । 

यस्तै असोजमा यस्तो आयात बढेर करिब चार खर्ब ४३ अर्ब रह्यो । भदौको तुलनामा असोजमा आयात एक खर्ब २७ अर्ब ३९ करोड ८६ लाख ५० हजार रुपियाँ बढ्यो । 

यस्तै यस वर्षको साउन महिनामा १४ अर्ब ८० करोड ९७ लाख रुपियाँ निर्यात भएकामा भदौ महिनामा बढेर २८ अर्ब ६८ करोड चार लाख ३७ हजार रुपियाँको निर्यात भएको थियो । असोज महिनामा निर्यात बढेर ४१ अर्ब ८२ करोड एक लाख ९३ हजार रुपियाँ निर्यात भएको छ ।