काठमाडौं । नेपाली महिला टोलीले आज साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दै छ । आज नेपालका प्रशिक्षक कुमार थापाले सेमिफाइनलमा भारतविरुद्ध खेलेकै टोली उतार्ने सम्भावना प्रवल छ ।
 
नेपालका मुख्य स्ट्राइकर सावित्रा भण्डारी आजको खेलमा खेल्छिन् अथवा खेल्दिनन् भन्ने मुख्य चासोको विषय हो । डेंगीका कारण पछिल्ला खेल गुमाएकी सावित्रा आज पनि सुरुआती–११ मा पर्ने सम्भावना कमजोर छ । 

आइतबार सम्पन्न पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक थापाले सोमबारको स्वस्थ्य परीक्षण पछि मात्र सावित्राको स्थिति थाहा हुने बताएका थिए । त्यसकारण पनि सावित्रा पहिलो रोजाइमा पर्ने सम्भावना न्यून छ । तथापि, उनी बेन्चमा भने हुनेछिन् । 

सावित्रा जस्तै मञ्जरीकुमारी योञ्जनको सम्भावना पनि कम छ । त्यसकारण आज नेपालको पहिलो रोजाइमा कुनै परिवर्तन हुने सभ्वाना न्यून छ । प्रशिक्षक थापाले पनि भारतविरुद्ध खेलाडीकोे प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताएका थिए । त्यसकारण आज भारतविरुद्ध खेलेकै टिम पहिलोे रोजाइमा खेल्नेछ । नेपालले भारतलाई साफमा पहिलोपटक पराजित गरेको थियो । 

नेपालले भारतलाई १–० ले हराएको थियो । भारत बाहिरिएसँगै प्रतियोगिताले नयाँ विजेता पाउने पक्का छ । नेपाल र बंगलादेश दुवैले अहिलेसम्म साफको उपाधि जितेका छैनन् । बंगलादेशको यो दोस्रो फाइनल हो भने नेपालले यसअघि पनि चारपटक फाइनल खेलेको थियो ।
 
आजको खेलपछि नेपालकी पुनम जर्घामगर, दीपा राई र इन्दिरा राईले सन्यास लिनेछन् । 

नेपाली टिम :
गोलकिपर :– एन्जिला तुम्बाप्पो सुब्बा (गोलकिपर, कप्तान)
रक्षक :– गीता राई, पुनम जर्घामगर, अमृता जैसी, हिराकुमारी भुजेल
मिडफिल्डर :– अनिता बस्नेत, सरु लिम्बु, दीपा शाही, अनिता केसी, प्रीति राई 
फरवार्ड :– रश्मीकुमारी घिसिङ