जिल्ला प्रहरी परिसर काठमाडौँले बालाजु र नयाँ बसपार्क क्षेत्रमा भएको तोडफोड, लुटपाट तथा आगजनी घटनामा संलग्न ६२ जनामाथि मुद्दा चलाउने तयारी गरिरहेको छ। 

यातायात मजदुर सङ्गठनले यही फागुन १ गते गरेको आन्दोलन एक्कासि उत्तेजित हुँदा प्रदर्शनकारीले बालाजु प्रहरी वृत्तको दुईवटा सवारीसाधन, ट्राफिक पोस्टमा आगजनी, तोडफोड तथा लुटपाट गरेका थिए।

प्रहरीका सवारीसाधन तथा ट्राफिक पोस्ट तोडफोड गर्ने ३५ जनाविरुद्ध आपराधिक उपद्रवको कसुरमा, ल्होत्से मल तोडफोड तथा लुटपाटमा संलग्न १७ जनाविरुद्ध डाँका तथा लुटपाट कसुरमा र अन्य १० जनाविरुद्ध अभद्र व्यवहार कसुरमा ६२ जनामाथि मुद्दा चलाउने तयारी भइरहेको परिसरले जनाएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता सीताराम रिजालले बालाजु तथा बसपार्क तोडफोड, लुटपाट तथा आगजनी घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको र अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी भइरहेको जानकारी दिनुभयो। 

नयाँ बसपार्क प्रयोग गर्ने विषयमा यातायात मजदुर सङ्गठनहरू, उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा गोङ्गबुस्थित नयाँ बसपार्कको व्यवस्थापन जिम्मेवारी पाएको ल्होत्से कम्पनीबीच केही महिनादेखि विवाद हुँदैआएको थियो। नयाँ बसपार्क बाहिरैबाट सञ्चालन हुन पाउनुपर्ने अडानमा रहेका यातायात मजदुर सङ्गठनको विरोध प्रदर्शन सकिनासाथ प्रदर्शनकारीहरूले नयाँ बसपार्कका भौतिक संरचना तोडफाड गर्दै प्रहरी चौकीमाथि आगजनी गरेका थिए। 

गृह मन्त्रालयले उक्त घटनाको विस्तृत अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो। परिसरले उक्त घटना नियोजित तथा योजनाबद्ध भने नरहेको जनाएको छ। तत्काल उत्पन्न परिस्थितिबाट भीड उत्तेजित हुँदा सो परिस्थिति सिर्जना भएको प्रहरीले दाबी गरेको छ। 

नयाँ बसपार्कमा रहेको ल्होत्से बहुउद्देश्यीय कम्पनीले तोडफोडबाट करोडौँको क्षति भएको र मोबाइल तथा विद्युतीय सामग्री गरी करिब १० करोड बराबरको लुटपाट भएको दाबी गरेको थियो। प्रहरीले सो कम्पनीले दाबी गरेजस्तो ठूलो परिणाम लुटपाट नभएको स्पष्ट पारेको छ। कम्पनीले दाबी गरेअनुसारको क्षति विवरणसमेत बुझाउन सकेको छैन।

काठमाडौँ उपत्यकाभित्र र बाहिर चल्ने सार्वजनिक यातायात नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने र बसपार्कभित्र नभई बाहिरबाटै सञ्चालन हुन पाउनुपर्ने विवाद महिनौँदेखि चल्दैआएको थियो। सडक छेउमा अव्यवस्थित पार्किङका कारण सवारीलाई आवतजावतमा समस्या सिर्जना भएको भन्दै त्यस्ता सवारीसाधनमाथि ट्राफिक प्रहरीले समेत जरिवाना बढाएर कडाइ गर्दैआएको थियो।

काठमाडौँ महानगपालिका, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घ, नयाँ बसपार्क व्यवस्थापनको जिम्मेवारी पाएको ल्होत्से बहुउद्देश्यीय कम्पनी तथा सरोकारवाला निकायबीच बसपार्कबाटै सवारी सञ्चालन गर्ने सहमति भए पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन।