देशकै केन्द्रीय प्रशासनिक कार्यालय रहेको सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन खाद्यवस्तु बिक्री वितरण गरेको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले सिंहदरबारमा रहेको सबभन्दा ठूलो सेन्ट्रल क्यान्टिनमा बासी खाना र म्याद नाघेका दूध र मसला प्रयोग गरेको पाइएपछि तीन लाख रुपियाँ जरिवाना गरेको हो ।  

ऐन कानुन निर्माण गर्ने, कार्यान्वयन र नियमन गर्नेलाई खाजा र खाना खुवाउनका लागि खोलिएका सिंहदरबारभित्रकै क्यान्टिनले गुणस्तरहीन र बासी खाना बिक्री गर्छन् भने देशभरका विद्यालय, विश्वविद्यालय, कार्यालय र अन्य ठाउँमा सञ्चालित क्यान्टिनको हालत के होला ? यहीबाट पनि सहजै अनुमान लगाउन सकिन्छ ।

विभागका निर्देशक होमनाथ भट्टराईले उक्त क्यान्टिन सञ्चालन गर्ने कञ्चन चमेना गृह र त्यसका सञ्चालक उत्तम भट्टलाई उपभोक्ता हितविपरीतको कसुर गरेकामा तीन लाख रुपियाँ जरिवाना गरेको जानकारी दिनुभयो । विभागको आकस्मिक अनुगमन टोलीले उक्त क्यान्टिनको अनुगमनका क्रममा मसला, बेसार, धुलो दूधका प्याकेट म्याद नाघेको पाइएकाले उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ अनुसार जरिवाना गरिएको उहाँले जानकारी दिनुभयो ।

विभागका अनुसार उक्त क्यान्टिन सहरी विकास मन्त्रालयको टेन्डरबाट भाडामा लिएर सञ्चालन गरिएको छ । उक्त क्यान्टिन अनुगमनका क्रममा दुर्गन्धित मासु र तरकारीसमेत बिक्रीका लागि फ्रिजिङ गरेर भण्डार गरेको अवस्थामा पनि पाइएको विभागले जनाएको छ । 

विभागका अनुसार अनुगमन टोलीले म्याद नाघेका दूध, मसला, बेसार र बासी वा दुर्गन्धित खानेकुरा नष्ट गरेको छ । 

विभागको सोही अनुगमन टोलीले संसद् सचिवालयमा सञ्चालित अर्को क्यान्टिनमा दर्ता नवीकरण नभएको भन्दै तीन दिनभित्र आवश्यक कागजातसहित विभागमा उपस्थिति हुन निर्देशन दिएको छ ।