उदयपुर, माघ ७ गते । उदयपुर कोरोना अस्पताल सञ्चालनमा आएसँगै संक्रमित भर्ना हुनेक्रम बढेको छ । जिल्लाको चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तहलाई लक्षित गरी चौदण्डीगढी– ६ बेल्टारमा निर्माण गरिएको जिल्लाको एकमात्र कोरोना अस्पतालमा संक्रमित भर्ना संख्या बढेको हो ।

अस्पताल ब्यवस्थापन समितिका सदस्यसचिव तेजबहादुर पोखरेलकाअनुसार अस्पताल सञ्चालन भएको ६ दिनमा नै १४ जना संक्रमित भर्ना भएका छन् । भर्ना भएका संक्रमितहरु बेलका नपाका २, त्रियुगाको १, धनुषाको १ र चौदण्डीगढीका १० जना छन् । सबैको अहिले सामान्य अवस्था रहेको जनाइएको छ । सामान्य खोकी, थकान, छाती दुखाइ हुने लक्षण उहाँहरुमा देखिएको छ । संक्रमितलाई अक्सिजन नै लाउनु पर्ने अवस्था नरहेको अस्पतालले बताएको छ ।

कोरोनाको तेस्रो लहर आएसँगै हाल उदयपुरमा दैनिकजसो संक्रमित बढ्दो छ । संक्रमण समुदायमै फैलिएपछि अस्पताल सञ्चालनमा ल्याइएको हो । सो अस्पतालमा ५० बेड सञ्चालनको अवस्थामा रहेको जनाइएको छ ।

अस्पतालमा दैनिकजसो एन्टिजेन परिक्षण पनि भइरहेको छ । हिजो १५ जनाको परिक्षणमा १० जना संक्रमित फेला परेका थिए । संकास्पद ब्यक्तिहरुले आएर निःशुल्क परिक्षण गर्नेगरेका छन् । उदयपुर विकास बोर्डको अगुवाईमा जिल्लाको आठै पालिकाको साझा लगानी तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुको सहयोगबाट साढे ३ करोड लगानीमा निर्मित अस्पताल पुरानै अवस्थामा सञ्चालनमा ल्याइएको अस्ताल सञ्चालक समितिका अध्यक्षसमेत रहेका चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले बताउनुभयो ।

अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी सात जना रहेका छन् । अन्य संघ संस्था तथा स्वास्थ्य संस्थासमेत गरी दैनिक नौं जना कर्मचारी खटिदैआएका छन् । चौदण्डीगढी नगर अस्पतालका डा. नन्दनकुमार साहको नेतृत्वको चिकित्सक टोलीले संक्रमितहरुको स्वास्थ्य उपचार तथा रेखदेख गरिरहेको छ । हेल्थ असिस्टेन्ट, स्टाप नर्स, नगर प्रहरी, भान्से, सरसफाईकर्मी र ल्याबका कर्मचारी खटिरहेका छन् ।

पहिलो र दोस्रो कोरोना लहरमा करिब सात सय जना संक्रमितलाई उपचार दिएको सो अस्पतालमा हाल पनि संक्रमितहरुलाई राम्रो हेरचाह तथा उपचारको ब्यवस्था मिलाएको सञ्चालन समितिको दावी छ । अस्पतालमा एम्बुलेन्स, खानेपानी, चर्पी, खेलकुद, भान्साघर लगायत प्रवन्ध राम्रो रहेको जनाइएको छ ।

उदयपुरमा पछिल्लो समय कोरोना संक्रमणको अवस्था समुदायस्तरमै फैलिएको अनुमान गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलकाअनुसार परिक्षणबाट दिनदिनै संक्रमितको संख्या बढ्दो छ । स्वास्थ्य कार्यालय उदयपुृरले जनाएअनुसार हालसम्म उदयपुमा संक्रमितको संख्या २१४ पुगेको छ । संक्रमितहरुमध्ये उदयपुर अस्पतालमा ९०, त्रियुगा नपामा ५२, कटारी नपामा ३२, बेलका नपामा २३ र चौदण्डीगढी नपामा १६ जना रहेका छन् ।

गाउँपालिकातर्फ उदयपुरगढीमा १ जनामा मात्र संक्रमण फेला परेको छ । संक्रमितमध्ये अधिकांश घरमै बसेर उपचार गरिरहेका छन् । संक्रमण फैलिएसँगै स्थानीय प्रशासनले सुरक्षाकर्मीहरु खटाइ नागरिकहरुलाई सतर्क बनाउने कार्य गरिरहेको छ ।