कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण नेपालमा नै पहिलो पटक धुलिखेल अस्पतालमा मृत्यु भएकी २९ वर्षीया सुत्केरी महिलासँग सम्पर्कमा आएका १९६ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

केही दिन अघि राम्चेगाउँका १९७ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्न काठमाडौं लगिएको थियो । उक्त संख्या मध्य १९६ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ अधिकृत दुर्गादत्ता चापागाईंले जानकारी दिनुभयो । बाँकी एकको रिपोर्ट केही दिनमा आउने जनाइएको छ । कोरोना भाइरस संक्रमित मृतक महिलाको शिशु, श्रीमान्, माइतीघरको आमा र बहिनीको पीसीआर रिपोर्ट पनि नेगेटिभ आएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ९ राम्चे गाउँको चालिसेटोल, रातामाटा, ठोटनेरी, कालापानीगाउँ, टारबिसौनाका साथै मृतक महिलाको माइती गाउँ लगायतमा स्वास्थ्य टोली पुगेर स्वाब संकलन गरेको थियो । सो स्वाब काठमाडौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको लागि पठाइएको थियो । नेगेटिभ रिपोर्ट आएपछि स्थानीयहरुमा त्रास कम हुँदै गएको सो गाउँका शिक्षक बलराम तिमल्सिनाले खुशी व्यक्त गर्नुभएको छ ।

स्वास्थ निर्देशनालय, प्रादेशिक जनस्वास्थ प्रयोगशाला, बाग्मती प्रदेशको सामाजिक विकास महाशाखा, स्वास्थ सेवा विभाग, जिल्ला जनस्वास्थ्य कार्यालय र स्थानीय स्वास्थकर्मीको टोलीले गाउँलेको स्वाब संकलन गरेको थियो । नेपालमै पहिलो पटक राम्चेमा कोरोना भाइरसका कारण मृत्यु भएपछि जिल्ला सुरक्षा समितिले बाह्रबिसे नगरपालिका ९ र बलेफी गाउँपालिका वडा नम्बर ७ र ८ लाई सिल गरेर स्वाब संकलन गरेको थियो ।

-गोरखापत्र