काठमाडौं, जेठ २२ गते । काठमाडौंको टेकुस्थित पेट्रोल पम्प अकस्मात् विस्फोट हुँदा घाइते दुईजनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । महानगरीय प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार महानगरपालिका–१२ स्थित कनक पम्पको इन्धन राख्ने ट्याङ्कीको ढक्कन वेल्डिङ गर्ने क्रममा अकस्मात् भित्रबाट ग्याँस विस्फोट भएको हो । 

उक्त विस्फोटमा पर्सा जिल्ला जगन्नाथपुर गाउँपालिका– ३ घर भइ कालिमाटी बस्नुहुने ३० वर्षीय किशोरी साहको बायाँ खुट्टा फ्याक्चर भएको छ । साहको दाहिने खुट्टा, अनुहार, दुवै हात र छाती जलेका छ भने उहाँ अहिले हल्का बोल्न सक्नुहुने अवस्थामा हुनुहुन्छ । 

यसैगरी, दुर्घटनामा पर्नुभएका सोही जिल्लाका १८ वर्षका दीपक कुमार साहको बायाँ गालामा हल्का पोलेको र उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्छ । मैनालीले आइतबार अपरान्ह ५ बजे सो घटना भएको जानकारी दिनुभयो ।