कुटपिट गरेर सडकमा फालेर भागेपछि उपचारको क्रममा काठमाडाैँमा मृत्यु भएका बाँकेका एक युवकको हत्यामा सहभागी चार युवकलाई प्रहरीले ३ घण्टामै पक्राउ गर्न सफल भएको छ । 

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर–४ एलबी चोक नजिक सडकमा गम्भीर घाइते अवस्थामा भेटिएका मिलन भनिने दीक्षित खड्काको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो ।बैजनाथ–६, सम्झनाचोक निवासी खड्काको उपचारका क्रममा मृत्यु भएको ३ घण्टा भित्रै प्रहरीले सो घटनामा संलग्न रहेका स्थानीय चार जना युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्लले बताउनुभयो । 

हत्या आरोपमा पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका वडा नम्बर–३ निवासी सुन्दर शाही, पूर्ण बुढामगर, खगेन्द्र थापामगर र बैजनाथ गाउँपालिका वडा नम्बर–४ बस्ने गोविन्द विक रहेको प्रहरीले जनाएको छ । 

प्रहरीको मोबाइल टोलीले सोमबार विहान अन्दाजी २ बजे रत्नराजमार्ग (कोहलपुर–सुर्खेत) सडकखण्डको बानियाँभार नजिक रहेको एलबीचोकस्थित सडकको बीचभागमा सख्त घाइते अवस्थामा खड्कालाई फेला पारेको थियो ।

गम्भीर घाइते अवस्थामा भेटिएका उहाँलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पु¥याएपनि स्वास्थ्य अवस्था जटिल भएको भन्दै थप उपचारका लागि काठमाडौँस्थित वीर अस्पताल लगिएको थियो ।

उपचारका क्रममा सोमबार दिउँसो २ बजेतिर उहाँको मृत्यु भएको तीन घण्टा नबित्दै हत्यामा संलग्न चारजनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी मल्लले बताउनुभयो । 

घटनास्थलमा बरामद रगत लागेको कपडा र लाठीका टुक्राहरु तालिम प्राप्त कुकुरलाई सुँघाएर अनुसन्धान गर्दा आक्रमण गर्ने युवकको दिशा पत्ता लाग्दा त्यही दिशामा खोजी गर्दा ३घण्टामै आक्रमण गर्नेहरु पक्राउ परेको मल्लले बताउनुभयो । प्रहरी नियन्त्रणमा रहेका युवकले कुटपिट गरेको स्वीकारिसकेको उहाँले जनाउनुभयो ।