धनुषाको नगराईन नगरपालिकामा चालु आर्थिक वर्षको पाँचौ महिनासम्म पनि आर्थिक कारोबार सञ्चालन हुन सकेको छैन । नगरपालिकामा नगरप्रमुख र उपप्रमुखबिच सहमति नहुँदा नगरसभा हुन सकेको छैन, जसकारण नगरपालिकाको आर्थिक कारेबार सञ्चालन हुन नसकेको हो ।
सभा नहुँदा नगरपालिकाका विभिन्न आर्थिक कारोबार तथा योजनाहरू कार्यान्वयनमा पनि अवरोध उत्पन्न भएको छ । जसले गर्दा सम्पन्न भएका कामको भुक्तानी सकेको छैन भने चालु आर्थिक वर्षको कुनैपनि योजना अगाडि बढ्न समेत सकेको छैन । गत वर्षको कार्यक्रमबाट सम्पन्न भएको सडक बत्ती जडानको काम सकिँदा पनि भुक्तानी हुन नसकेको नगराइनका नगरप्रमुख विनयकुमार यादवले बताउनुभयो ।
यसले नगरपालिकाको विकास क्रमलाई पछि धकेलेको छ भने पालिकाको काम समयमा हुन नसक्ने देखिएको प्रमुख यादवको भनाइ छ । पालिकाको आवश्यक सेवा प्रवाहमा समेत बाधा पुर्याएको उहाँले बताउनुभयो ।
गत असार १० गते बोलाइएको सभाको बैठकमा उपप्रमुख उपस्थित नहुनु, सभा सञ्चालका लागि सहमतिमा नआउँदा बजेट पास हुन नसकेको नगरप्रमुखको भनाइ छ । उहाँले भन्नुभयो, “कांग्रेसबाट निर्वाचित प्रमुख र एमालेबाट निर्वाचित उपप्रमुख भएका कारण विवाद भएको हो । यहाँ एमालेको बहुमत छ । त्यसकारण पनि सहमति हुन नसकेको हो ।”
यता, नगराईन नगरपालिकाका उपप्रमुख राधादेवी यादवले भने सभाका लागि कुनै जानकारी नगराएको बताउनुभएको छ । उहाँले गत असार १० गतेको सभाबारे आफूलाई कुनै जानकारी नभएको बताउनुहुँदै उहाँले भन्नुभयो, “नगरप्रमुखले आफू अनुकूल योजना चलाउन खोज्दा यस्तो भएको हो । सबैको हित र सहमति अनुसार सभा सञ्चालन गर्न सकिन्छ ।”
नगरपालिकाको आर्थिक कारोबार ठप्प हुँदा सामाजिक सुरक्षाकोषअन्तर्गतको रकम निकासा हुन सकेको छैन भने कर्मचारीहरुले समेत तलब पाउन सकेका छैनन् । यसरी प्रमुख र उपप्रमुखबिच विवाद हुँदा नगरसभा सञ्चालन हुन सकेको छैन । जसकारण कार्यपालिकाको कामकाजमा बाधा पुग्दा योजनाहरु समयमा सम्पन्न नहुने देखिन्छ ।-gorkhapatraonline
प्रतिकृयाहरु