आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले लगातार दोस्रो पराजय व्यहोरेको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको शृङ्खलाको आफ्नो दोस्रो खेलमा आज नेपाल घरेलु टोली युएईसँग ५ विकेटले पराजित भएको हो ।
टस जितेर सुरुवाती ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाउँदै २ सय ३३ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले १ सय ३० बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक १ सय ९ रनको शतकीय पारी खेलेका थिए ।
यसैगरी आसिफ शेखले ३५, आरिफ शेखले २७, दीपेन्द्रसिंह ऐरीले २३ र करण केसीले १३ रन बनाए । कप्तान रोहितले शतकीय पारी खेलेपनि नेपालको पराजय भने टार्न सकेनन् ।
जितका लागि २ सय ३४ रनको लक्ष्य पछ्याउदै मैदानमा उत्रिएको युएईले पाँच विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । युएई विरुद्ध नेपालका सन्दीप लामिछानेले दुई तथा करण केसी र दीपेन्द्रसिंह एरीले समान एक-एक विकेट लिए ।
यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग एक सय ६ रनले पराजित भएको थियो ।
यस जितसँगै १८ खेलबाट आठ अङ्क बनाएको युएई अन्तिममै छ । समान खेलबाट १२ अङ्क बनाएको नेपाल सातौँ स्थानमा छ ।
नेपालले युएईपछि शृङ्खलाको अर्को खेल कात्तिक १५ गते शनिबार अमेरिकासँग र अन्तिम खेल कात्तिक १९ गते बुधबार युएईसँग खेल्नेछ ।
आठ टोली सहभागी लिगमा हाल अमेरिका २२ खेलबाट ३२ अङ्क जोड्दै शीर्षस्थानमा छ ।
लिग–२ मा सहभागी आठ राष्ट्रले कुल नौ शृङ्खलामा ३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीन शृङ्खला खेल्नेछन् भने ६ शृङ्खला अन्य राष्ट्रका मैदानमा खेल्नेछन् ।
प्रतियोगितामा शीर्ष चारमा रहने टोली सोझै सन् २०२७ मा हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछन् ।।

प्रतिकृयाहरु