चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्टमा अपरेसन थाल्ने भएको छ । एक साताभित्रै दुई सिफ्टमा अपरेसन गर्ने गरी व्यवस्थापन गरिएको निमित्त निर्देशक डा. समाज गौतमले जानकारी दिनुभयो ।
अहिले एक सिफ्टमा भइरहेको छ, उहाँले भन्नुभयो , अब एक साताभित्र दुई सिफ्ट अपरेसन गर्ने गरी व्यवस्था मिलाएका छौँ ।

ल्याब क्षमता वृद्धि


निमित्त निर्देशक गौतमले अस्पतालको प्रयोगशालाको क्षमता वृद्धिका लागि उपकरणहरू थपिएको बताउनुभयो । ल्याब परीक्षणका लागि बाहिर जान नपर्ने गरी प्रयोगशालाको क्षमता बढाएका छौँ, उहाँले भन्नुभयो, बाहिर प्रयोगका लागि गैर हेका परीक्षणको विवरण अध्ययन गरेर आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्ने योजनाअनुसार काम थालिएको छ ।

डा. गौतमले वीरमा हाल दैनिक २५ एमआरआई भइरहेकामा क्षमता वृद्धि गरेर ३२ पुर्‍याइसकेको बताउनुभयो । अहिले दैनिक भएको भन्दा बढी एमआरआई सेवा उपलब्ध भएको छ, उहाँले भन्नुभयो, अब पहिलेभन्दा महिनामा दुई सय जनाले बढी सेवा लिन पाउनेछन् ।

अस्पतालको सफाइका लागि काम सुरु


वीर अस्पतालले सबैभन्दा धेरै आलोचना सर सफाइमा खेप्ने गरिरहेको छ । शौचालय सफा नभएका भनेर बिरामी तथा कुरुवाको गुनासो आउने गरेको भन्दै यसको व्यवस्थापनका लागि समेत काम भइरहेको निमित्त निर्देशक गौतमले बताउनुभयो । हामीले कसरी अझ बढी सफा गर्न सकिन्छ भनेर टोलीलाई अनुगमन तथा सुधारका लागि खटाएका छौँ, उहाँले भन्नुभयो, यसको नतिजा पनि चाँडै देखिनेछ ।

डा. गौतम एक साता अघि वीरको निमित्त निर्देशकको जिम्मेवारीमा हुनुहुन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नयाँ निर्देशक नियुक्त नहुँदासम्म गौतमलाई वीरको निमित्तको जिम्मेवारी दिनुभएको हो । यस अवधि  वीरमा नतिजा देखिने गरी सुधार गर्न मन्त्री पौडेलले निर्देशन दिनुभएको थियो । यसैअनुसार सुधार अघि बढाइरहेको डा. गौतमले बताउनुभयो ।