बुढानीलकण्ठ नगरमा वैकल्पिक राजनीति र नागरिक–केन्द्रित शासन प्रणालीको अभियानलाई थप सशक्त बनाउने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नगर अधिवेशन यही पौष २६ गते, शुभ ईभेन्ट्स, गोल्फुटारमा भव्य रूपमा आयोजना हुने भएको छ

नगर अधिवेशनको उद्घाटन कार्यक्रममा पार्टी सभापति रवि लामिछाने स्वयं उपस्थित भई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उहाँको उपस्थितिलाई बुढानीलकण्ठमा परिवर्तनको राजनीतिप्रति बढ्दो जनसमर्थनको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ।

लोकतान्त्रिक मूल्य, पारदर्शिता र जनउत्तरदायित्वलाई संस्थागत गर्ने लक्ष्यसहित आयोजना हुन लागेको यस अधिवेशनले निर्वाचनमार्फत नयाँ नगर समिति चयन गर्नेछ। अधिवेशनमा नगर सभापति, उप–सभापति, सचिव तथा सह–सचिव पदमा निर्वाचन हुने प्रबल सम्भावना रहेको र यसले नगर तहमा सक्षम, उत्तरदायी र ऊर्जाशील नेतृत्वको विकास गर्ने विश्वास लिइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले बुढानीलकण्ठ नगरका सम्पूर्ण नगरवासी, परिवर्तनकामी नागरिक, रास्वपा समर्थक तथा शुभेच्छुकहरूलाई उक्त ऐतिहासिक नगर अधिवेशनमा उपस्थित भई वैकल्पिक राजनीतिक अभियानलाई बलियो बनाउन हार्दिक अपिल गरेको छ।

नगर अधिवेशनले बुढानीलकण्ठमा नयाँ राजनीतिक चेतना, संगठन सुदृढीकरण र जनमुखी नेतृत्व निर्माणको आधार तयार गर्ने अपेक्षा गरिएको छ।