जिन्दगीले आफ्नै तरिकाले खुट्टा घुमाउने क्रममा अनेकथरी यात्रा गर्दै म कक्षा ६ मा अध्ययन गर्नका लागि बाल विकास बोर्डिङ हाइ स्कुलमा आइपुगेँ । नयाँ परिवेश ,नयाँ साथीहरू ,नयाँ शिक्षकशिक्षिकासँग कसरी घुलमिल हुने भन्ने पिरलोले मलाई भित्रभित्रै खाइरहेको थियो । ममा एक प्रकारको आशंकाको बादल मडारिइरहेको थियो । म भारी मन लिएर पहिलो दिन विद्यालय गएँ ।
पहिलो दिनको विद्यालय प्रवेश गर्नासाथ म आश्चर्यचकित भएँ किनकि त्यहाँ त नयाँ विद्यार्थीलाई नयाँ जस्तो भान हुन दिने वातावरण रहेनछ । मैले सबैबाट एकदमै आत्मीयता र आफ्नोपन पाएँ, जुन कुराले मेरो मनमा मडारिरहेको आशंकाको बादल फाटेर दिलमा झलमल्ल घाम लाग्यो । काठमाडौँ जिल्लाको उत्तरी भेगकै नमुना विद्यालयको रूपमा रहेको मेरो स्कुलमा मैले खोजेर गएका सबै कुराहरू पाएँ । विद्यार्थीमैत्री वातावरण , योग्य शिक्षकशिक्षिका , अतिरिक्त क्रियाकलाप , यातायातको व्यवस्था , आफ्नै निजी भवन , फराकिलो खेलकुद मैदान , स्वास्थ्यबर्धक खानेकुरा पाइने क्यान्टिन भएको मेरो विद्यालयको नाम त्यत्तिकै बाल विकास रहेको होइन रहेछ । यस विद्यालयले आफ्नो नामअनुसारको काम गरिरहेको रहेछ । अन्तर्राष्ट्रिय स्तरका कुङ फु प्रशिक्षकद्वारा कुङ फु प्रशिक्षण , चाइनिज भाषा ,राष्ट्रिय स्तरका नृत्य निर्देशक र संगीत शिक्षकद्वारा प्रशिक्षण मलाई विशेष लागे । मलाई बाल विकास बोर्डिङ हाइ स्कुलको विद्यार्थी हुन पाएकोमा गर्व लाग्न थाल्यो ।
दिनहरू राम्रोसँग बित्दै थिए । म पनि कक्षा ६ को भर्‍याङ पार गरेर कक्षा ७ मा पुग्नको लागि एकदमै उत्सुक थिएँ तर कोरोनाको महामारीले विश्वलाई आक्रान्त बनाउने क्रममा शिक्षा क्षेत्रलाई पनि नराम्ररी थला पार्‍यो । जताततै सन्त्रासले आक्रमण गर्न थाल्यो ।
यस्तो विकराल परिस्थितिमा पनि मेरो विद्यालयले व्यवस्थित अनलाइन कक्षा सञ्चालन गर्‍यो । कक्षा ७ र ८ को पढाइको सिलसिलामा धेरै समय अनलाइन कक्षामा सीमित रहनु परे तापनि सुरक्षाको मापदण्ड अपनाएर विद्यालयले परिस्थिति अलि साम्य हुनासाथ भौतिक कक्षा सञ्चालन गर्‍यो । विद्यार्थीको अध्ययनको विषयमा यति गम्भीर र सचेत विद्यालय सायद विरलै पाइन्छन् होला ।
विद्यालयको वातावरणले गर्दा म यति प्रभावित भएँ कि मलाई घरभन्दा स्कुल रमाइलो लाग्न थाल्यो । विद्यालयलाई किन दोस्रो घर भनिएको रहेछ भन्ने कुराको मर्म बल्ल बुझ्न थालेँ । म जबजब एउटा कक्षाको सिँढी उक्लँदै जान्थेँ तबतब त्यो क्षण मेरो लागि हर्ष र दु: ख दुबैको संगम बन्न पुग्थ्यो । मलाई खुसी यो अर्थमा लाग्थ्यो कि मैले अब थप एक कक्षा अगाडि उक्लन पाएँं । दु: ख यो अर्थमा लाग्थ्यो कि अब मेरो स्कुले जीवनको आयु छोटिँदै छ ।
स्कुलका प्राचार्यज्यू, शिक्षकशिक्षिका ,कर्मचारी र विद्यार्थीहरु सबै बीचमा भएको सौहार्दले मलाई सधैँ उत्प्रेरणाको ऊर्जा मिल्थ्यो । म पनि पढाइका साथसाथै अतिरिक्त क्रियाकलापमा अब्बल हुँदै गएँ । विशेषगरी म साहित्यको अनुरागले बढी ओतप्रोत हुन पुगेँ । विद्यालयले मलाई विभिन्न प्रतियोगितामा सामेल गराएर मेरो प्रतिभालाई थप तिखार्ने प्लेटफर्म प्रदान गर्‍यो । म एस इ इ सम्मको शैक्षिक यात्रामा आइपुग्दा स्कुलले जुन अभिभावकीय भूमिका खेल्यो, त्यसको प्रशंसा जति गरे पनि सायद अधुरो हुन्छ । मलाई मात्रै नभएर हरेक शैक्षिक स्तर भएका विद्यार्थीको क्षमता विकासको लागि विद्यालयले गरेको योगदान अविस्मरणीय र अनुपम छ ।

मलाई लाग्छ ,बाल विकास बोर्डिङ हाइ स्कुल शिक्षा क्षेत्रको ध्रुबतारा नै हो । सस्तो र सुलभ ढङ्गले शिक्षाप्रदान गर्दै आएको यो स्कुल आजका हरेक अभिभावकले आफ्नो छोराछोरीको लागि खोज्नुभएको स्कुलका सबै विशेषताले भरिभराउ छ भन्दा कुनै अत्युक्ति नहोला । समय सापेक्षरूपमा सीपमूलक शिक्षा प्रदान गर्नमा हरपल अग्रसर यस विद्यालयले नेपाल सरकारका कृषि विज्ञ ध्रुवकुमार श्रेष्ठको संयोजकत्वमा विद्यालयका विद्यार्थीद्वारा करेसाबारी , पिपियो मेलन ,स्ट्रबेरी आदिको उत्पादनमा पनि सफलताको सोपान उक्लदै गएको कुरा झन् सराहनीय छ ।
स्थानीय स्तरमा उत्कृष्ट शिक्षा प्रदान गर्ने ध्येयले स्थानीय सञ्चालकद्वारा सेवामूलक प्रयोजनले स्थापना भएको यो विद्यालयले स्थापनाकालको २९औँ वर्षमा प्रवेश गरेको छ । यसका सञ्चालक एकजना मात्रै भएकाले सञ्चालकहरुको असमझदारी र कलहले गर्दा धराशायी हुने हो कि भन्ने कुनै द्विविधा पनि छैन । भविष्यमा बन्द हुने हो कि भन्ने कुनै अन्योल पनि छैन । यति राम्रो विद्यालयको छत्रछायामा एस इ इ सम्मको अध्ययन पूरा गर्न पाएकोले म आफैँमा गौरवान्वित भएकी छु र विद्यालयप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । म हर्दम मेरो विद्यालयलाई मेरो हृदयको केन्द्रमा सजाइरहने छु । म सगौरव भन्न चाहन्छु कि “मेरो आस्थाको धरोहर : बाल विकास बोर्डिङ हाइ स्कुल ”

मेजुना कार्की
२३ औँ एस इ इ ब्याचकी विद्यार्थी
बाल विकास बोर्डिङ हाइ स्कुल
बूढानीलकण्ठ ,काठमाडौँ