मादक पदार्थ सेवन (मापसे) चेकजाँचका क्रममा ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई घाइते बनाएर फरार भएका कार चालकलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-५, गर्दोई बस्ने ४६ वर्षीय बासुदेव आचार्य रहेका छन्।बिहीबार (पुस १७ गते) राति हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङस्थित सडकमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको टोलीले नियमित चेकजाँच गरिरहेको थियो।नवलपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको एक कारलाई प्रहरीले रोकेको थियो। ट्राफिक प्रहरीले ‘ब्रेथलाइजर’ मेसिन प्रयोग गरी मापसे चेक गर्न खोज्दा चालकले एक्कासी कारको सिसा बन्द गरी गाडी भगाएका थिए। सो क्रममा ब्रेथलाइजरसहित ड्युटीमा रहेका प्रहरी जवान कारमा अड्किएर करिब १० मिटर घिसारिँदा घाइते भएका थिए l