प्रतिनिधि सभाको अवरोध खुलाउने विषयमा सभामुखले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग अहिले बैठक राख्नुभएको छ।

सभामुख देवराज घिमिरेले डाक्नुभएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा सभामुखसहित प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेताहरु कृष्णप्रसाद सिटौला र महामन्त्री गगन थापा सहभागी हुनुहुन्छ ।

सभामुखले आफ्नो झापा जाने कार्यक्रम रद्द गरेर सदन खुलाउन पहल  गर्नुभएको सभामुखको सचिवालयलले जनाएको छ ।

हिजो प्रमुख ४ दलको बैठकमा संसद खुलाउने विषयमा सहमती जुट्न सकेको थिएन ।

आज प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठक काँग्रेसले अवरुद्ध गर्ने जानकारी गराइसकेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणको विषयलाई लिएर संसदीय छानवीन समिति बनाउनुपर्ने अडान राखेको छ ।