नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनावी प्रक्रियामा सहभागी हुन आफूहरु तयार भए पनि सरकारले वातावरण बनाउन अझै नसकेको बताउनुभएको छ । चुनावको वातावरण नबने विघटित संसद पुनःस्थापना हुने उहाँको भनाइ छ ।
मदन–आश्रित स्मृति प्रतिष्ठानले एघारौं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा मंगलबार काठमाडौँमा आयोजना गरिएको ‘महाधिवेशनका सन्देश र राजनीतिक निकास’ विषयक विचार गोष्ठिमा अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । “मुलुकको लोकतन्त्र संकटमा परेका बेला सर्वोच्च अदालतले समयमै न्याय गर्न सक्नुपर्ने उहाँको सुझाव छ । समय घर्केपछि गरेको फैसलाको अर्थ रहँदैन, मुलुक संकटमा पर्दा अदालतले न्याय गर्न सक्नुपर्छ” अध्यक्ष ओलीले भन्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, “लोकतन्त्रमा निर्वाचनको विकल्प हुँदैन तर स्वस्थ निर्वाचनका लागि भयरहित वातावरण बन्नुपर्छ । राजनीतिक नेताहरुलाई लखेटेर निर्वाचन हुँदैन ।” उहाँले असंवैधानिक ढङ्गले प्रतिनिधिसभा विघटन गरिएकाले त्यसको पुनःस्थापना आवश्यक रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कोही कोहीले निर्वाचन नहुँदै प्रधानमन्त्रीको भागबण्डा लगाएको सुनेको छु, त्यस्तो भागबण्डाको केही अर्थ छैन । निर्वाचन सम्पन्न भए पनि काँग्रेस र एमालेविना सरकार बन्न सक्दैन ।” मुलुकलाई प्रतिगमनमा लैजाने षडयन्त्र भए पनि एमाले र काँग्रेसजस्ता राजनीतिक शक्ति मुलुकमा रहुन्जेल लोकतन्त्रमा आँच आउन नदिइने उहाँले बताउनुभयो । देशको लोकतन्त्र, नीति, विधि, संविधान र राष्ट्रिय स्वाभिमानको मुद्दामा काँग्रेस र एमालेबिच सहकार्य हुने उहाँले बताउनुभयो ।
उहाँले एमालेको सम्पन्न ११ औं महाधिवेशनले नेतृत्वको लोकप्रियता र अलोकप्रियताका सम्बन्धमा व्यावहारिक जवाफ दिएको प्रष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “यो महाधिवेशन धेरै हिसाबले अर्थपूर्ण छ अत्यन्तै सामयिक छ । यतिबेला भन्नुपर्छ, जनअनुमोदित निरविवाद नेतृत्व तत्काल अद्यावधिक गरिएको नेतृत्वको टीम नेकपा (एमाले) सँग छ ।”
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले एमालेको ११ औं महाधिवेशनले एमालेलाई विभाजित गर्न खोज्ने शक्तिलाई पराजित गरेको बताउनुभयो ।

प्रतिकृयाहरु