नेपालमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का निर्देशक डा. चन्द्रभाल झाले नियमित परीक्षण गर्दा सात जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार एक जना राष्ट्रिय प्रयोगशालामा र छ जना काभ्रेमा गरी सात जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना सक्रमितको स्वास्थ्य सामान्य रहेको डा. झाले जानकारी दिनुभयो। उहाँले सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो। उहाँ भन्नुहुन्छ,“कोरोना पुष्टि भएका सङ्क्रमित निको भएर घर गइसक्नु भएको छ। उहाँहरुको स्वास्थ्य अवस्था सामान्य छ।”
राष्ट्रिय प्रयोगशालाका प्रवक्ता सन्तोष सुवेदीले प्रयोगशालाले नियमित कोरोना परीक्षण गर्दै आएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “प्रयोगशालाले नियमित कोरोना परीक्षण गर्दै आएको छ। पहिलेदेखि नै एक दुई जनामा कोरोना पुष्टि हुँदै आएको छ। अब कोरोना सामान्य भैसकेकोले आतिुपर्दैन।”
विश्व स्वास्थ्य संगठनले पनि विभिन्न देशका देखिएको कोरोना कडा नभएकोले नआत्तिन आग्रह गर्दै आएको छ। हाल नेपाल लगायत अन्य देशमा देखिएको कोरोना सामान्य रहेको सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिनुभयो।
ज्येष्ठ नागरिक, गर्भवती, बालबालिका, दीर्घ रोगीलाई यदि कोरोना सङ्क्रमण भएमा गम्भीर लक्षण देखिन सक्ने भन्दै सचेत रहन डा. पुनले आग्रह गर्नुभएको छ। उहाँले कोरोना फैलन नदिन भीडभाडमा जाँदा पहिलेको जस्तै जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गर्नुभयो। उहाँ भन्नुहुन्छ, “कोरोना नयाँ भेरिएन्ट आएको सुन्नमा आएको छैन। अहिले देखिएको कोरोनाले सामान्य रुघाखोकी जस्तै भइसकेको छ। दीर्घरोगी, ज्येष्ठ नागरिक, गर्भवती, बालबलिकालाई भने विशेष ख्याल गर्नुपर्छ।”
नेपालमा थप कोरोना संक्रमित फैलन नदिन सीमा नाका, हवाई नाकामा हेल्थ डेस्क राखेको इडिसिडीका निर्देशक डा. झाले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छौँ। आवश्यक परेमा परीक्षण किट तुरुन्तै पठाउने गरी तयारी गरेका छौँ।’’। यसको साथै परीक्षण किट खरिदको लागि मन्त्रालयसँग पहल सुरु गरिसकेको इडिसिडीका निर्देशक डा. झाको भनाइ छ। -Gorkhapatraonline
प्रतिकृयाहरु