इजरायलमा सरकार विरुद्ध व्यापक प्रदर्शन भएको छ । गाजामा बन्धक बनाइएका आफ्ना नागरिकको रिहाईका लागि सम्झौता नगरेको भन्दै मुख्य शहर तेल अभिभमा १ लाखभन्दा बढी प्रदर्शनकारीहरु सडकमा उत्रिएका हुन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका विपक्षीहरुले प्रदर्शनको नेतृत्व गरेका छन् । इजरायली रक्षा सेनाले गाजामा बन्धक बनाइका नागरिक इलाद कात्जिरको शव फेला पारेपछि इजरायली शहरहरुमा व्यापक प्रदर्शन भइरहेको छ ।

बन्धकको सुरक्षा र शीघ्र रिहाईका लागि सम्झौता गर्न सरकारलाई दवाब दिन प्रदर्शनको आयोजना गरिएको बताइएको छ । प्रदर्शनकारीहरुले मारिएका बन्धकसँग माफी माग्दै इजरायलमा तत्काल निर्वाचनको माग समेत गरेको स्थानीय संचार माध्यमहरुले जनाएका छन् ।

इजरायल प्यालेस्टायन युद्ध शुरु भएको आज ६ महिना पूरा भएको छ । सरकार विरोधी प्रदर्शनमा गाजामा बन्धक बनाइएकाहरुका परिवारका सदस्यहरु समेत सामेल भएका छन् । हमासले बन्धक बनाएका १ सय ३० बन्धकहरुलाई मुक्त गर्न सरकार असमर्थ भएको भन्दै प्रदर्शनकारीहरुले निराशा व्यक्त गरेका छन् ।