काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा बस दुर्घटना हुँदा तीनजनाको निधन भएको छ ।

आज साँझ शङ्खरापुर नगरपालिका–३ फेदी जङ्गलस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्कँदै गरेको बा४ख ८७८८ नम्बरको महानगर यातायात बस दुर्घटना भएको हो । बसमा करिब ४० जना रहेकोमा ३० जनाभन्दा बढी घाइते भएका थिए । घटनास्थलबाट सबै जनालाई उद्धार गरी साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल र पिपुल्स लाइफ केयर लगायतका अस्पतालमा पुर्‍याइएको थियो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक  प्रवीण धितालका अनुसार घटनामा दुई महिला र एक पुरुषको निधन भएको छ । घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ । 

अर्को गाडीलाई उछिन्ने क्रममा गाडी दुर्घटनामा परी रुखमा अड्केको जानकारी उहाँले दिनुभयो । गाडीलाई क्रेनले निकाल्ने प्रयास भइरहेको छ । 

यसैगरी, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले भन्नुभयो, “बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ । घटनास्थलबाट सबैलाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको छ । बस घटनास्थलमै रहेको र अन्य विवरण आउन बाँकी छ ।”