कविता :नयाँ वर्षको शुभकामना
हरेक पटक नयाँ साल फेरिएर आयो
आशाकिरण मनभित्र छरिएर आयो
अब त कायापलट होला कि भन्दाभन्दै
नराम्ररी झुक्काइदियो औँला गन्दागन्दै
धनीका महलहरु झन् आकाशिँदै गए
गरिबका झुपडीहरु झन् भासिँदै गए
बोल्नेका पीठो सधैँ बिकि नै रह्यो
नातावाद र कृपावाद टिकि नै रह्यो ।
रोग ,भोक र शोकले उसरी नै खाइरहे
ठाउँमा मान्छे हुनेहरू सधैँ अघि आइरहे
अवसरको अभावमा युवा विदेश पस्नुपर्यो
परदेशको लागि तिनले सुन फलाई बस्नुपर्यो ।
सबैतिर एकैनासले विकास कहाँ भयो र
फेरिएको युगको कहिले के नै अर्थ रह्यो र
एउटालाई दुख्दाखेरि अर्कोले हेरिरह्यो
सङ्कटको चक्रव्युहले नराम्ररी घेरिरह्यो
एकआपसमा खुट्टा तान्ने चलिरह्यो खेल
आफू उठ्न अर्कोमाथि भइरह्यो झेल
इमानदारले कहीँकतै पाएन नि ठाउँ
धूर्त र जिउन जान्नेको ठूलो बन्यो नाउँ
अब चाहिँ नयाँ वर्ष बनिरहोस् खास
गरिबका पनि सबै पूरा होऊन् आश
हिमालजस्तै सौम्य बनोस् सबैको भावना
सबैलाई नयाँ वर्षको एक भूगोल शुभकामना ।
बूढानीलकण्ठ ,काठमाडौँ
प्रतिकृयाहरु