काठमाडौं । बुढानिलकण्ठ नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नगर समिति सचिव पदका लागि एक सक्रिय युवा सामाजिक अभियन्ताले उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि सामाजिक, खेलकुद, क्लब तथा स्थानीय सुशासनका मुद्दामा क्रियाशील रहँदै आएका उनी बुढानिलकण्ठमा प्रभावकारी, रचनात्मक र सकारात्मक प्रतिपक्षको आवश्यकता रहेको तर्कसहित सचिव पदको दौडमा होमिएका हुन्।
२०४८ साल जेठ २८ (June 11, 1991) मा जन्मिएका उनी बुढानिलकण्ठ नगरपालिका–४, चपली गाउँ निवासी हुन्। साधारण, इमानदार मध्यमवर्गीय परिवारमा हुर्किएका उनका पिता शिक्षक र आमा गृहिणी हुन्। प्रारम्भिक शिक्षा डायमण्ड इङ्लिस मिडियम स्कूलबाट २०६४ सालमा एसएलसी उत्तीर्ण गरेका उनले नोबेल एकेडेमीबाट विज्ञान संकायमा +2 पूरा गरेका छन्। त्यसपछि हेराल्ड कलेजबाट (Master Degree in Rural Development) ग्रामीण विकाससम्बन्धी मानविकी विषयमा स्नातक अध्ययन गरेका छन्।
विद्यार्थी जीवनदेखि नै नेतृत्व क्षमताको अभ्यास गरेका उनी स्काउट्स, विद्यालय फुटबल टिम, विभिन्न क्लब तथा कक्षा क्याप्टेनको भूमिकामा सक्रिय रहे। यही अनुभवले उनलाई संगठित नेतृत्व, अनुशासन र टिमवर्कमा निपुण बनाएको उनी बताउँछन्।
हाल उनी विभिन्न सामाजिक तथा युवा क्लबहरूमार्फत बुढानिलकण्ठमा सक्रिय छन्। शिवपुरी युथ क्लब, वडा नं. ४ का प्रस्तावित भावी उपाध्यक्ष हैसियतलेको बुढानिलकण्ठ मेयर कपको आयोजना, नीलकण्ठ युवा समिति, वडा नं. ४ का सल्लाहकारका रूपमा भद्रकाली जात्रा र नीलकण्ठ मेयर कपको व्यवस्थापनमा संलग्न छन्। यसैगरी, वडा नं. ७ स्थित BMJ Reloaded Club का महासचिव भएर BMJ प्रिमियर लिग तथा दशैं कपजस्ता प्रतियोगिताहरू आयोजना गरिसकेका छन्। प्रहरी सामुदायिक विपद् व्यवस्थापन समितिका सदस्य तथा प्रवक्ताका रूपमा शान्ति–सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरूमा पनि उनी सक्रिय छन्।
राजनीतिक रूपमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी, बुढानिलकण्ठ वडा नं. ४ का पूर्व संस्थापक अध्यक्ष समेत हुन्। सार्वजनिक सुनुवाइमा नियमित सहभागिता, बजेट सुझाव पत्र, सार्वजनिक जग्गा संरक्षण, गोल्फुटार पार्किङ समस्याको समाधान प्रयास, कुलमान घिसिङ समर्थनमा गरिएको विरोध कार्यक्रम, बुढानिलकण्ठ मन्दिरमा एकादशी मेलाका बेला पानी वितरणलगायत गतिविधिमा उनको संलग्नता देखिन्छ। साथै, धनेश्वर फुटबल मैदानका लागि बजेट विनियोजन गराउन गरेको पहल पनि उल्लेखनीय मानिन्छ।
पेसागत रूपमा उनी SBP Remedies Pvt. Ltd. मा मार्केटिङ डिभिजन हेडको रूपमा कार्यरत छन्। राजनीतिमा प्रवेश गर्नुको कारणबारे उनी भन्छन्, “लामो समयदेखि देखिएको व्यथिति, लापरवाही र जवाफदेहिताको अभावबाट आजित भएर स्वच्छ वैकल्पिक युवा राजनीतिबाट परिवर्तन ल्याउने उद्देश्यले राजनीतिमा आएको हुँ।”
सचिव पदमा उम्मेदवारी दिनुको मुख्य कारण बुढानिलकण्ठ नगरपालिकामा प्रभावकारी प्रतिपक्षको अभाव रहेको उनी बताउँछन्। “जनताका आवाज, समस्या र सवाललाई संस्थागत रूपमा उठाउने सकारात्मक प्रतिपक्ष आवश्यक छ,” उनको भनाइ छ। साथै, २०८४ को निर्वाचनलाई लक्षित गर्दै बलियो संगठनिक आधार निर्माण गर्नु पनि उनको प्राथमिकता हो।

उम्मेदवारका रूपमा उनी निर्वाचित भएमा नगर समिति र वडा समितिहरूलाई सक्रिय बनाउने, छायाँ सरकारको अवधारणालाई प्रभावकारी रूपमा अघि बढाउने, घर–दैलोमा पार्टीका कार्यक्रम पुर्याउने तथा प्रविधिमैत्री संगठन निर्माण गर्ने प्रतिवद्धता जनाएका छन्।
आन्तरिक निर्वाचनका क्रममा सम्भावित विभाजनबारे उनी कार्यक्रम र मुद्दा केन्द्रित राजनीति, निरन्तर संवाद र समन्वयबाट एकता कायम गर्ने बताउँछन्। पराजित भए पनि पार्टी र जनताको हितमा रचनात्मक भूमिका खेल्ने उनको स्पष्ट अडान छ।
छायाँ सरकार, जनतामाझ पार्टी विस्तार, सदस्यता अभियान, २४/७ सेवा दिने ‘Rapid Action Team’, प्रविधिमैत्री समिति र ‘८४ को मुहार, ८४ को बाटो’ उनका मुख्य एजेन्डा हुन्। यी एजेन्डामार्फत बुढानिलकण्ठमा वैकल्पिक, जिम्मेवार र परिणाममुखी राजनीति स्थापित गर्ने लक्ष्यसहित उनको सचिव पदको उम्मेदवारीलाई हेरिएको छ।

प्रतिकृयाहरु