बुढानीलकण्ठ नगरपालिका–१० को आयोजनामा असार ४ गतेदेखि सञ्चालनमा रहेको “Summer Football Camp – 2081” मा असार १० गते Nutrition Diet (पोषण आहार) विषयमा विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। क्याम्पमा सहभागि बालबालिकाहरुलाई पोषणविद् रस्मिता लामाले खेलाडीहरूको लागि आवश्यक सन्तुलित आहार, दैनिक भोजन तालिका, पानीको सेवन, प्रोटिन, कार्बोहाइड्रेट र भिटामिनयुक्त खाद्यपदार्थहरूको सन्तुलनबारे जानकारी दिइन्।
क्याम्पको मुख्य उद्देश्य बालबालिकालाई विद्यालयको गर्मी विदामा खेलकुद, स्वास्थ्य र अनुशासनको माध्यमबाट सशक्त बनाउने रहेको छ।
यस क्याम्पका प्रमुख मेन्टर पूर्व राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा प्रशिक्षक बिशाल श्रेष्ठ हुनुहुन्छ। उहाँको प्रत्यक्ष समन्वय र प्रशिक्षणमा बालबालिकाले आधारभूत फुटबल सीपदेखि लिएर नेतृत्व क्षमता, टीमवर्क र अनुशासनमा समेत प्रशिक्षण लिइरहेका छन्।
अहिलेसम्म सम्पन्न भएका मुख्य गतिविधिहरू:
१. क्याम्प उद्घाटन:असार ४ गते नगर प्रमुख मिठाराम अधिकारिको प्रमुख आतिथ्यमा उद्घाटन समारोह सम्पन्न।
२. दैनिक अभ्यास: बिहान ६:०० देखि ८:०० सम्म नियमित फुटबल प्रशिक्षण जारी।
३. फुटबल मूलभूत सीप विकास: पासिङ, ड्रिब्लिङ, शुटिङ, डिफेन्स, गोलकिपिङ लगायतका शारीरिक अभ्यासहरू।
४. विशेष प्रेरणादायी भेटघाट: असार ५ गते पूर्व राष्ट्रिय कप्तान बिराज महर्जनको आगमन, बालबालिकासँग प्रेरणादायी संवाद।
५. Nutrition Diet Training: असार १० गते पोषणविद् रस्मिता लामाबाट स्वस्थ खेलाडी जीवनशैलीबारे व्याख्यान।
वडाध्यक्ष नवराज भट्टराईका अनुसार, “हामीले खेलकुदमार्फत बालबालिकाको आत्मविश्वास, स्वास्थ्य र अनुशासन विकासलाई केन्द्रमा राखेर यो क्याम्प सञ्चालन गरेका हौं। यहाँ बालबालिका सिक्दैछन्, खेल्दैछन् र सँगसँगै जीवनपाठ पनि बुझ्दैछन्।”
यस क्याम्पमा सहभागी बालबालिकाले दैनिक फुटबल प्रशिक्षणसँगै नेतृत्व, सहकार्य र जीवनपद्धतिका विभिन्न पक्षहरूमा समेत सिकाइ गरिरहेका छन्। क्याम्पलाई अझ प्रभावकारी बनाउन आगामी हप्ता फिजिकल फिटनेस, बालमैत्री मनोविज्ञान, तथा Mini Tournament को समेत आयोजना गरिने तयारी भइरहेको वडाले जनाएको छ । समर क्याम्प कपन ह्यान्डबल बहुउद्देश्यिय खेल मैदान, आकाशेधारामा यहि असार १४ गते सम्म सन्चालन हुनेछ ।
प्रतिकृयाहरु