नेपालको राजनीतिक इतिहास हेर्ने हो भने, २०४६ सालको परिवर्तनपछि विभिन्न प्रणालीहरू अपनाइए, तर यी व्यवस्थाले देशलाई साँच्चिकै समृद्धि दिलाएको भन्न सकिन्न। अमेरिकी राष्ट्रपति जो बाइडेनदेखि अघिल्ला राष्ट्रपति ट्रम्प, ओबामा र अहिले पुन ट्रम्पसम्म आइपुग्दा अहिले झन आक्रमणरूपमा अमेरिकी जनताको श्रम र लगानीलाई प्राथमिकता दिँदै देशको स्वाधीनतालाई सर्वोपरि मान्ने नीति त्यहाँका शासकहरु अपनाएका छन्। तर नेपालमा सत्तामा पुगेका हाम्रा शासकहरू भने व्यक्तिगत स्वार्थमा केन्द्रित रहेर राज्यको मूलभूत संरचना मजबुत बनाउनेतर्फ भन्दा पनि केवल शक्ति र सौखिन जीवनशैलीमा रमाउन तल्लीन देखिन्छन्। आर्थिक वृद्धिदर, जीडीपी, र प्रति व्यक्ति आयको अवस्थालाई हेर्ने हो भने नेपालको GDP वृद्धिदर कहिलेकाहीँ सकारात्मक बिन्दुमा देखिए पनि यसको प्रत्यक्ष लाभ नागरिकसम्म पुगेको छैन। प्रति व्यक्ति आय न्यूनस्तरमै छ, जसले गर्दा आम नागरिकको जीवनस्तरमा सुधार हुन सकेको छैन। आर्थिक वृद्धि भनेको कागजी रूपमा मात्र देखाउने तर वस्तुगत रूपमा असर नगर्ने प्रवृत्तिले हामी आम नेपाली जनतामा गहिरो निराशाको जन्म भएको छ। त्यस्तै नेपाली आकाश देखि जमीन सम्म कुनै न कुनै तौरतरिका बाट भ्रष्टाचार संस्थागत रूपमै मौलाउँदै गएको छ। यहाँका शासकहरू नीति निर्माणभन्दा बढी कमिसनको खेलमा व्यस्त छन्।

सरकारी सेवा तथा विकास आयोजनाहरूमा ठेक्कापट्टाको चलखेलले देशलाई आत्मनिर्भर हुनबाट वञ्चित गरिरहेको छ। आत्मनिर्भर अर्थतन्त्र विकास गर्ने नीति बन्न नसक्दा नेपाल वैदेशिक सहायता, ऋण, र आप्रवासनमाथि अत्यधिक निर्भर हुँदै गएको छ। परिणामस्वरूप दैनिक रूपमा नेपालको कुल उत्पादनभन्दा ऋणको भारको मात्रा वृद्धि भइरहेको छ। विदेशी ऋणले देशको बजेट चलिरहेको अवस्था छ, तर ती ऋणको सदुपयोग भने भएको छैन। नेपालले आफ्नै उत्पादन बढाउने भन्दा पनि आयातमा निर्भर रहनुपर्ने अवस्था छ। यस्तो परिप्रेक्ष्यमा आत्मनिर्भर अर्थतन्त्रको कल्पना गर्नु नै असम्भव देखिन्छ। आर्को महत्त्वपूर्ण चिन्ता र चासोको बिषय भनेको यो देशका युवाहरू दैनिक १५०० वा सो भन्दा बढि विदेशिन बाध्य छन्।

यहाँ रोजगारी सिर्जना गर्ने दीर्घकालीन योजना नहुँदा दैनिक सयौं युवा विदेश पलायन भइरहेका छन्। फलस्वरूप, नेपाल वृद्धाश्रममा परिणत हुँदै गएको छ। श्रमयोग्य जनशक्ति बाहिरिनु देशकै लागि गम्भीर संकटको संकेत बनेको छ । जुनसुकै देशमा शासकहरूले देशलाई पुर्याएको योगदानका आधारमा उनीहरूको जीवनशैली निर्धारण हुनुपर्ने हो नेपालको हकमा पनि यो हुनु आवश्यक मात्रै होइन अपरिहार्य छ । जबसम्म देशको आर्थिक स्तर उकास्न सकिँदैन, तबसम्म मन्त्री, सांसद, र उच्च पदस्थ व्यक्तिहरूले करोडौँ पर्ने गाडीमा यात्रा गर्न लायक छैनन्। Alto, Maruti 800, Sentro GLX वा i10 जस्ता सवारी साधन सम्म उनीहरूको हैसियत हुनुपर्छ। किनभने उनीहरूले जुन परिवर्तनको कुरा गर्छन्, त्यो व्यवहारिक रूपमा देखिएको छैन। नेपालमा चुनावताका भनौं या आफ्नो पोल्टामा परिणाम पार्न शासकहरुबाट परिवर्तनको चर्चा धेरै हुने गरेको तर परिणामविहीन रहने प्रवृत्ति विद्यमान छ। परिवर्तन भनेको केवल कागजमा मात्र लेखिने कुरा होइन, जनताको जीवनस्तरमा देखिने सुधार हो। अमेरिकाले आफ्नो विकासमा आफ्नै नागरिकको लगानीलाई जोड दिएको छ, तर नेपालमा भने जनता मात्र कर तिर्ने साधन बनेका छन्, सुविधा भने नेताहरूले भोगिरहेका छन् यो भन्दा ठूलो विडम्बना देशका लागि आर्को के हुन सक्छ ।

नेतृत्वको असक्षमता, गलत नीति, भ्रष्टाचार, र व्यक्तिगत स्वार्थकै कारण नेपाल एक स्थायी परनिर्भर देश बन्दै गएको छ। देश समृद्ध बनाउनका लागि आत्मनिर्भर अर्थतन्त्र, पारदर्शिता, र नतिजामुखी योजना आवश्यक छ। जबसम्म हाम्रो नेतृत्वले देशको वास्तविक आवश्यकतामा ध्यान दिँदैन, तबसम्म यहाँ समृद्धिको कल्पना मात्र गर्न सकिन्छ। अब समय आइसकेको छ—नीति, योजना, र कार्यान्वयनलाई सुधारेर नेपाललाई आत्मनिर्भर बनाउने। अन्यथा, देशको सत्तामा बस्नेहरूसँग महँगा गाडी चढ्ने नैतिकता र हैसियत हुनेछैन। 

लेखक अधिवक्ता कृष्ण बहादुर खनाल