रौतहटमा सुटकेस भित्र मृत अवस्थामा फेला परेको महिलाको सनाखत भएको छ।
आज बिहान जिल्लाको गौर – सिरसिया सडक खण्डमा सुटकेसभित्र मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको प्रहरीले जनाएको छ।
जिल्लाको माधवनारायण नगरपालिका – ६ माधोपुर माइत भई हाल गौर नगरपालिका – २ महादेवपट्टिमा डेरा गरी बस्दै आएकी २६ वर्षीया रुबिकुमारी साह सुडि रहेको रौतहटका डिएसपी राजु कार्कीले जानकारी दिनुभएको छ।
सुटकेस भित्र मृत अवस्थामा फेला परेकी महिला भारतको मुज्जफरपुर जिल्ला रक्साटोलका शिव सागर साहको श्रीमती रुबिदेवि साह रहेको पुष्टि भएको डिएसपी कार्कीले बताउनुभयो।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार माधवनारायण नगरपालिका ६ माधोपुरका राम विनोद साह सुडीको छोरी रुबिकुमारीको भारतको मुज्जफरपुर जिल्लाका रक्साटोलका शिवकुमार सँग विवाह भएको थियो ।
तर आफ्ना चार वर्षको छोरालाई पढाउन रुविकुमारी आफ्ना आमासँग केही वर्षदेखि गौर नगरपालिकाको महादेवपट्टिमा डेरा लिएर बस्दै आएकी थिइन्।
स्थानीयका अनुसार राम विनोद साह सुडी आजभन्दा ३० वर्षअघि देखि नै माधोपुर गाउँ छाडेर स(परिवार भारतमा नै बस्दै आएका छन्।
व्युटिपार्लर जान्छु भनी हिजो साँझ ६ बजे रूबिकुमारी डेराबाट बाहिर निस्केकी थिइन्।
तर राति साढे १० बजेतिर गौर नगरपालिका ९ मुडवलवा मोड नजिक सडक किनारमा डोरीले बाँधिएको सुटकेस भित्र मृत अवस्थामा रुबिकुमारिको शव भेटिएको थियो।
घटनाको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएको प्रहरी टोलीले मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको छ।
घटना बारे प्रहरीले गहन अनुसन्धान गरिरहेको जनाएको छ।
कसैले हत्या गरेर रुबिकुमारीलाइ सुटकेस भित्र हालेर सडकमा फालेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
सुटकेसमा कुइनो र घुँडा जोडेर प्याक गरेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको हो।
नाकबाट रगत बगेको तर, उनको शरीरमा कुनै चोट नदेखिएको प्रहरीको भनाइ छ । मृतकका परिवार प्रहरीको सम्पर्कमा आएका छन् ।
घटना बारे अनुसन्धान गर्न प्रहरीले घटनास्थल नजिकै रहेको एक विद्यालयको सिसिटिभी चेकजाँच गरिरहेको छ।
अनुसन्धान पछि मात्र थप कुरा खुल्ने जनाइएको छ।
प्रतिकृयाहरु