शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हराएका तीन जना नेपाली पर्यटकको नेपाली सेनाको चन्दननाथ गणसहित,नेपाल प्रहरी र निकुञ्ज प्रशासनको संयुक्त टोलीले मध्यरातमा सफलतापूर्वक उद्धार गरेको छ।
निकुञ्जका सहायक संरक्षण अधिकृत रामजीप्रसाद गौतमका अनुसार हराएकामध्ये दुई महिला र एक पुरुष छन्। उनीहरू मंगलबार दिउँसो करिब १२ बजे पानीमुहान क्षेत्रबाट शिवपुरी हाइटतर्फ पदयात्रा सुरु गरेका थिए। निकुञ्जको मुख्य पथ मार्ग भन्दा अन्य मार्ग अपनाउँदा उनीहरू अलपत्र परेका र निकुञ्ज भित्र रहेको मुख्य पथ मार्ग फेला नपर्दा रातभर जंगलमै रोकिएका थिए।
पर्यटकका आफन्तले बुधबार बिहान निकुञ्ज घुम्न गएकाहरु सम्पर्क विहिन भएको भन्दै र जंगलमा हराएको हुन सक्ने भन्दै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा जानकारी आएपछि उद्धार प्रक्रिया तत्काल सुरु गरिएको थियो। दिउँसो ४ बजेदेखि ड्रोन र सर्चलाइट प्रयोग खोज तलाश गरेको थियो।अन्तत मध्यरात १२:३० बजे शिवपुरी पिक क्षेत्रमा उनीहरू भेटिएका थिए।
उद्धारपछि टोलीले उनीहरूलाई तातो खानेकुरा, पानी र प्रारम्भिक स्वास्थ्य परीक्षण उपलब्ध गराएको थियो। शारीरिक रूपमा उनीहरू सामान्य अवस्थामा रहेका छन्, यद्यपि अत्यधिक थकान र चिसोका कारण हल्का अस्वस्थता देखिएको अधिकारीहरूले जानकारी दिएका छन्। राति नै उनीहरूलाई पानीमुहान प्रवेशद्वार लगेर नेपाल प्रहरीलाई बुझाइएको थियो।
सहायक संरक्षण अधिकृत गौतमका अनुसार, शिवपुरी क्षेत्र हाइकिङका लागि लोकप्रिय भए पनि घना जंगल र जटिल बाटोका कारण पर्यटकहरूले धेरै सावधानी अपनाउनुपर्ने आवश्यकता छ। “अनुभवी गाइडसहित हिँड्नु राम्रो हुन्छ,” उनले भने। यसअघि पनि निकुञ्ज क्षेत्रमा यस्तै हराउने घटनाहरू बढिरहेका छन्। गत बर्ष पनि हाईकिङ गएका १० जना विद्यार्थीहरु निकुञ्जमा बाटो बिर्सिएर हराएका थिए भने हाइकिङ्ग गएका ६ जनालाई बागद्वार नजिकै लुटपाट गरिएको थियो।
नेपाली सेनाका कर्णेल डम्बरबहादुर खड्काले खोजी अभियानमा सहभागी सबै टोलीको प्रशंसा गर्दै भविष्यमा पनि यस्ता उद्धारमा सक्रिय रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाए। निकुञ्ज प्रशासनले भविष्यमा हुन सक्ने सम्भावित दुर्घटनालाइ मध्य नजरगर्दै पर्यटकहरूको सुरक्षाका लागि प्रवेश गर्दा आपतकालीन सम्पर्क विवरण दर्ता गर्न आग्रह गरेको छ।

प्रतिकृयाहरु