काठमाडौं, साउन ६ ।
मितेरी स्पोर्ट्स हबको आयोजनामा र शिवपुरी युथ क्लबको व्यवस्थापनमा प्रथम खुल्ला मितेरी 6A फुटसल प्रतियोगिता २०८२ साउन १७ र १८ गते आयोजना हुने भएको छ। आयोजकले सोमबार बुढानीलकण्ठ-०२, भंगाल स्थित मितेरी स्पोर्टस हबमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता सम्बन्धी सम्पूर्ण विवरण सार्वजनिक गरेको हो।

कार्यक्रम संयोजक तथा आयोजक परिवार मितेरी स्पोर्ट्स हबका अध्यक्ष लुकेन्द्र राईले छोटो समयमा निमन्त्रणा स्वीकृत गरी उपस्थिति जनाएका सम्पूर्ण सञ्चारकर्मी र पत्रकारहरुलाई धन्यवाद ज्ञापन गर्दै प्रतियोगिता खेलकुदको माध्यमबाट सामाजिक एकता, सद्भाव, युवा प्रतिभाको पहिचान र समग्र खेलकुद विकासमा योगदान दिने उद्देश्यले आयोजना गरिएको जानकारी दिए।

आज भएको सम्मेलनमा बुढानीलकण्ठ नगरपालिका खेलकुद विकास समिति संयोजक सुमन तामाङ, वडा नं. ०२ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ, समाजिक विकास समिति संयोजक शान्ता ढकाल पुडासैनी, मितेरी स्पोर्ट्स हबमा अध्यक्ष लुकेन्द्र राई, शिवपुरी युवा क्लबका अध्यक्ष मधु कार्की लगायत विभिन्न सञ्चार माध्यमका प्रतिनिधी र खेलप्रेमी युवाहरुको उपस्थिति रहेको थियो । 

प्रतियोगितामा देशका विभिन्न भागबाट २० भन्दा बढी टोलीहरूको सहभागिता रहने अनुमान गरिएको छ। प्रतियोगिताको दर्ता शुल्क रु ५,०००/- राखिएको छ भने दर्ताको अन्तिम मिति साउन १५ गते सम्म तोकिएको छ।

पुरस्कार विवरण:

  • विजेता टोली: नगद रु ६०,०००/-, ट्रफी, मेडल र प्रमाणपत्र

  • उपविजेता टोली: नगद रु ३०,०००/-, ट्रफी, मेडल र प्रमाणपत्र

  • उत्कृष्ट खेलाडी: नगद रु २,५००/-

  • उत्कृष्ट गोलरक्षक: नगद रु २,५००/-

कार्यक्रमका मुख्य उद्देश्यहरू:

  • युवामा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्नु

  • राष्ट्रियस्तरका खेलाडी पहिचान तथा प्रोत्साहन

  • मित्रता, अनुशासन र सहकार्यको भावना विस्तार

  • स्थानीय तथा राष्ट्रिय खेलकुदको समग्र विकासमा सहयोग गर्नु

आयोजकका अनुसार प्रतियोगिताको खेल तालिका साउन १६ गते सार्वजनिक गरिनेछ र सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरिने व्यवस्था गरिनेछ। कुल अनुमानित खर्च रु ९,८५,०००/- रहनेछ।

आयोजकले प्रतियोगिताको उद्घाटन तथा समापन कार्यक्रममा पनि सञ्चारकर्मीको उपस्थिति र प्रचार–प्रसारका लागि आग्रह गर्दै कार्यक्रम सफल बनाउन सबैको सहकार्यको अपेक्षा व्यक्त गरेका छन्।